
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले यसपटक सरकार चलाउने जिम्मा आफ्नो पार्टीले लिने उल्लेख गर्दै अन्य दलहरूलाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । यसपटक जनताले रास्वपालाई जिताउने निर्णय गरिसकेकाले दलहरूले भनेजस्तै साँच्चै बलियो संगठन भए अब सडकबाट आफुहरूलाई खबरदारी गरी अर्कोपटक आफुहरूलाई एक ठाउँमा पनि जित्न नसक्ने गरी तयारी गर्न पनि आग्रह गर्नु भयो ।
अहिले पार्टीप्रति भन्दा देशप्रति निष्ठा देखाउनुपर्ने बेला आएकाले अन्य दलका समर्थक र सदस्यहरूले पार्टी नछाडेरै मत बदल्ने निर्णय गरेको सभापति लामिछानेको भनाइ छ । आफूलाई सांसदबाट निकाल्ने योजनाकार दाङमै रहेको र यसपटक पनि चुनाव लडेको उल्लेख गर्दै सभापति लामिछानेले संसद्बाट निकाले पनि जनताको मनबाट निकालेर देखाउन चुनौती दिनुभयो ।
३५ वर्षसम्म थारूलाई भोट बैंक बनाएर जहाँ भन्यो त्यहीँ भोट हाल्न लगाए पनि थारू समुदायको हकहितका लागि पुराना दलहरूले केही पनि नगरेएको दाबी गर्दै अब थारू समुदायको परिवर्तनको जिम्मा थारू समुदायले लिने बताउनुभयो ।