
काठमाडौं । नेपाल र नेपालीलाई समृद्धि र समुन्नतिको गन्तव्यसम्म पुर्याएर छाड्ने संकल्प गर्दै नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमालेले चुनावपछि बन्ने मन्त्रिपरिषद्बाट तत्काल निर्णय गरी समयसीमा तोकेर गर्ने कामको सूची पेश गरेको छ । जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने वाचा गरिएको छ। यस्तै, स्टार्टअप व्यवसायमार्फत् अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरुलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुको खातामा वाषिर्क ५ हजार थप गरिदिने र प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने पनि एमालेले वाचा गरेको छ ।
यस्तै, सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा, श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार पुर्याउने, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकाको भत्ता २० हजार भत्ता पुर्याउने र २० लाखसम्म उद्यमी महिला निब्र्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ ।
एमालेले घोषणापत्रमा विपन्न परिवारलाई राहत दिन २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने वाचा गरेको छ । यस्तै, समृद्धिका २५ स्तम्भ तोकिएको छ । जसअनुसार ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आकार ५ वर्षसमा एक सय खर्ब र दश वर्षमा २ सय खर्बको पुर्याउने लक्ष्य राखिएको छ । प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोत, साधन र सामर्थ्य परिचालन गरिने एमालेले जनाएको छ । उच्च आर्थिक वृद्धिबाट वाषिर्क ५ लाख रोजगारी सिर्जना गर्ने, रोजगारी बढाउन वृहद अभियान सञ्चालन गर्ने तथा वैदेशिक लगानीका लागि अनुकूल वातावरण विकास गर्ने उल्लेख गरेको छ ।
विपद् पीडित तथा जोखिममा रहेका र ज्येष्ठ नागरिकका लागि नागरिक आवास सेवा उपलब्ध गराउने, सबै नेपालीलाई चौबिसै घन्टा सुरक्षित पिउने पानी उपलब्ध गराउने, उद्योग क्षेत्रको बिस्तार, ५ वर्षमा निर्यात दोब्बर गराउने, सहकारीमा सुशासन र पारदर्शीता, पर्यटकको बसाई लम्ब्याउनेलगायतका प्रतिबद्धता पनि एमालेले गरेको छ ।
यसैगरी, निजी अस्पतालको शुल्क नियमन गर्ने, भदौ २३ र २४ मा क्षति भएका संरचना एक वर्षभित्रै पुनर्निर्माण गर्ने, राष्ट्रिय खेलकूद प्रतियोगिता नियमित समयमा गर्नेसहितका प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।