
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि १४ दिन बाँकी रहेको छ । यसवीचमा दलहरुले चुनावी गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ ।
नेपाली कांग्रेसले आज चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कार्यतालिका छ ।
यसैगरि एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि आज वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्न लागेको हो । घण्टाघर चोक सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले निर्धारण गरेको फागुन ४ देखि १८ सम्मको प्रचार अवधिलाई व्यापक उपयोग गर्ने रणनीति दल तथा उम्मेदवारले लिएका छन्। प्रचारका लागि तोकिएको १५ दिनमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न आचारसंहिताले छुट दिएको छ।