
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैंका लागि बन्द हुने उद्घोष गर्नुभएको छ ।
धनगढीमा आयोजित जन सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभइ, नेतासँग ‘कन्ट्रयाक्ट गर्ने युगको सुरूवात भएको बताउनुभएको हो । लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभाये ।
जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग गरेको दाबी गर्दै उहाँले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गर्नुभयो । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उहाँको भनाइ छ ।
भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टि मिलाएर भए पनि मतदान गर्न आउन आग्रह गर्नुभयो । सिंहदरबार बनाउने मात्र नभइ बदल्ने गरी आफूहरू आएको जिकिर गर्नुभयो । सिंहदरबारको संरचना मात्र नभइ त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो ।
पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उहाँले ३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो भनि प्रतिप्रश्न गर्नुभयो । भ्रष्टाचार र बेथिति आधा नभइ पूर्णरूपमा फाल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई उहाँले आह्वान गर्नुभयो ।