
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि १५ दिन बाँकी रहेको छ । यसवीचमा दलहरुले चुनावी गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले आफ्नो तयारी तिब्र पारेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले निर्धारण गरेको ४–१८ फागुनको प्रचार अवधिलाई व्यापक उपयोग गर्ने रणनीति दल तथा उम्मेदवारले लिएका छन्। प्रचारका लागि तोकिएको १५ दिनमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न आचारसंहिताले छुट दिएको छ। ६ माघमा उम्मेदवारी दर्ता गरेर घरदैलोमा लागेका उम्मेदवारहरूले ४ फागुन सुरु भएसँगै आमसभा गरिरहेका छन्।
कांग्रेसले आज जनकपुरमा ठूलो सभा गर्दै छ। त्यही कांग्रेसले चुनावी घोषणापत्र जारी गर्ने तयारी गरेको छ। त्यस्तै रास्वपाले आज धनगढीमा चुनावी सभा गर्दैछ । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताले सबै प्रदेशका सभालाई सम्बोधन गर्ने तयारी छ। रास्वपाले बिहीबार सुर्खेत, शनिबार भैरहवा र आइतबार पोखरामा सभा गर्दैछ।
एमालेले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा व्यस्त हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा उत्रिएका कारण उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको हो। नेपाली कम्युनिस्ट पार्टीर्ले ठूला सभा नगर्ने भएको छ। संयोजक पुष्पकमल दाहाल आफ्नै निर्वाचन क्षेत्र रुकुम पूर्वमा घरदैलो गरिरहनु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो सुदूरपश्चिमको महेन्द्रनगरमा चुनावी सभा गरेको छ। जसपा नेपालका नेता मनीष सुमनले चुनावी अभियान जोडतोडसाथ अघि बढेको जानकारी दिनुभयो । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले चुनावी अभियान सुरु भइसकेको बताउनुभयो ।