
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १८ दिन बाँकी रहेको छ । चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले गतिविधि तिब्र पारेका छन् भने निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ ।
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने आयोगले जनाएको छ ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको हो । आजदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।