
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढ्दै गएको दाबी गर्नुभएको छ ।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरूले समेत निर्वाचनको माहाेला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मिहिनेतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहाेल देखिए पनि पुराना ठाउँहरूमा त्यो नदिएको समेत बताउनु भयो । संयोजक दाहालले आफ्नो पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताउनु भयो । उहाँले आगामी १०, १५ दिनभित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरूलाई पछाडी पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौं युवा पुस्ताहरूले साथ दिएको समेत बताउनु भयो ।