
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन हुन २३ दिन बाँकी रहँदा मुख्य दलका प्रमुख नेताहरूलाई भने चुनाव लागेको छैन ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता आन्तरिक प्रतिस्पर्धाबाट छेउ पर्दा चुनावी रिङबाट समेत बाहिर पुगेका छन् । चुनावी प्रतिस्पर्धामा नरहेका नेताहरू न पार्टीको सम्पर्कमा छन् न त प्रचारमै खटिएका छन् ।
अबको तीन साताभित्र १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको चुनाव हुँदैछ । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल यतिखेर मतदातासँग भेटघाट र घरदैलो गरिरहेका छन् । निर्वाचन आयोगले फागुन ३ गतेसम्मका लागि आचारसंहिता जारी गरेकाले दलहरू ठूला आमसभा र प्रचारको तयारीमा जुटिरहेका छन् । तर हालै सम्पन्न पार्टीका महाधिवेशनबाट नेतृत्वबाट बाहिरिएका कांग्रेस-एमालेका नेताहरू टिकटबाट वञ्चितमात्रै भएनन्, चुनावी गतिविधिमा पनि कतै देखिएका छैनन् ।
एउटा राजनीतिकर्मीका लागि निर्वाचनमा परीक्षण हुनु महत्वपूर्ण भए पनि उनीहरू त्यो अवसरबाट टाँढिएका छन् । पार्टीले समेत निर्वाचनमा जिम्मेवारी दिएर खटाएको छैन । कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व लिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवामात्र नभइ उहाँ निकटका अधिकांश नेता चुनावी रिङमै कतै छैनन् । उम्मेदवारले समेत उनीहरूको खोजी गरेका छैनन् ।
गगन थापा नेतृत्वले पूर्वसभापति देउवा समूहका प्रभावशाली नेतालाई न टिकट दियो न त निर्वाचनमा जिम्मेवारी दिएर खटायो नै । देउवा स्वयं डडेलधुराबाट उम्मेदवार हुन चाहनुहुन्थ्यो । देउवा मात्र नभइ उहाँ पक्षका नेताहरू पूर्णबहादुर खड्का, रमेश लेखक, शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले टिकट नै पाएनन् ।
कांग्रेसले प्रकाशमान सिंह, सीता गुरूङ, दीपक खड्का, दिलेन्द्र बडु र रामहरि खतिवडालगायतलाई टिकट त के सोधखोज पनि गरेको छैन । नेताहरूले टिकट नपाए पनि पार्टी राजनीतिमा सक्रिय भएर चुनावमा खटिने र निर्वाचनपछिको विकल्पलाई लिएर छलफल गर्ने मनस्थितिमा पुगेका छन् ।
एमालेमा पनि ११औँ महाधिवेशनबाट पराजित अधिकांश नेताले निर्वाचनमा टिकट पाएनन् । महाधिशनबाट झन्डै ३० प्रतिशत मत पाउँदा पनि पार्टीभित्र पराजित नेताहरूको जिम्मेवारीलाई लिएर कुनै छलफल भएको छैन । अर्कोतर्फ चुनाव नजिकै आइसक्दा पनि एमालेले महाधिवेशनबाट छेउ परेका नेताहरूको सोधखोज गरेको छैन ।
चुनावमा समेत पार्टीले कुनै जिम्मेवारी नतोकेपछि यो समूहले निर्वाचनमा सक्रिय खटिन आफ्नो समूहलाई निर्देशनसमेत दिइसकेको नेता सुरेन्द्र पाण्डे बताउनुहुन्छ । महाधिवेशनमा झिनो मतले पराजित पाण्डेसहित यो समूहका अधिकांश नेताहरूलाई एमालेले चुनावी प्रचारमा पनि खटाएको छैन ।
अग्नि खरेल, कर्ण थापा, विन्दा पाण्डे, आनन्द पोखरेल, गोकुल बाँस्कोटा, टंक कार्की, रचना खड्का, गणेश पहाडी, उषाकिरण तिम्सेनालाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन । यस्तै विभिन वाम घटकहरूको गठबन्धनबाट गठित नेपाली कम्युनिष्ट पार्टीले समेत अधिकांश शीर्ष नेताहरुलाई टिकटबाट वञ्चित गरेको छ ।
नेकपाले अग्नि सापकोटादेखि बामदेव गौतम, झलनाथ खनाल, पम्फा भुसाल, दीनानाथ शर्मा, बेदुराम भुसाल, रेखा शर्मालाई टिकट दिएन । कतिपयले आन्दोलनपछिको बदलिँदो राजनीतिक घटनालाई लिएर रूचि समेत देखाएका छैनन् । गौतम र खनाल चुनावी प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहे पनि नेकपाले टिकट दिएन ।
जेन-जी आन्दोलनको म्यान्डेट अनुसार हुन लागेको निर्वाचनमा मुख्य तीन दल कांग्रेस, एमाले र रास्वपाले प्रधानमन्त्रीका उम्मेदवार नै मैदानमा उतारेका बेला आधाभन्दा बढी नेताहरू चुनावी गतिविधिबाट बेखबर बनेका छन् ।