
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गर्नुभएको छ ।
उहाँले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गर्नुभएको हो । नयाँ शक्तिहरूबीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहर"बीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताउनु भयो । उहाँले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गर्नुभयो ।
उहाँले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पार्नुभयो । संसद्मा एमालेको संख्या कम भए पनि भूमिका ‘निर्णायक र आक्रामक’ हुने बताउनु भयो । प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घन्टाैं बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गर्नुभयो ।
पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानुनी कदमको भन्डाफोर गर्न सांसदहरूलाई आह्वान गर्नुभयो ।