काठमाडौं । बालेन्द्र शाह यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जो बोल्नै दकस मान्नुहुन्छ ।
प्रधानमन्त्री नियुक्त भएको दुई साता बित्यो, न संसद् न सार्वजनिक समारोह, शाहको बोली सुन्न पाइएको छैन । न सरकारको योजनाबारे, न समसामयिक विषयमा कुनै टिप्पणी । बालेन्द्र त बालेन्द्र भैहाल्नुभयो, उहाँको परिचय नै नबोल्ने नेताको छ । तर, बोल्ने नेताकै परिचय बनाएका पनि कतिपय मौन छन् ।
त्यस्तै नेता हुनुहुन्छ कांग्रेस सभापति गगन थापा । निर्वाचनमा कांग्रेस र आफ्नो पराजयदेखि पार्टीको एउटा कार्यक्रममा बाहेक उहाँ चुप हुनुहुन्छ । सार्वजनिक ओहोदामा भएका व्यक्तिले सार्वजनिक विषयमा बोल्नु र बोलीप्रतिको जवाफदेहिता कायम राख्नु दायित्व नै हो ।
त्यसमाथि इन्धन संकट र महँगीले जनजीवन निकै प्रभावित भएका बेला त अभिभावक संस्थाका प्रमुखका हिसाबले प्रधानमन्त्रीले कम्तीमा नआत्तिन भनेरै सही सम्बोधन गर्नुपर्ने हो । तर, न प्रधानमन्त्री न मन्त्रीहरू न प्रतिपक्षी दलका सभापतिले नै जनतालाई सम्बोधन गर्न जरुरी ठानेका छन् ।
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको १५ दिन भयो । यसबीच उहाँले देखिने गरी फटाफट काम गरिरहनुभएको छ । शासकीय सुधारका योजनादेखि प्रश्न उठेका मन्त्री बर्खास्त गर्नेसम्मका काम उहाँबाट भएका छन् । यद्यपि आजका मितिसम्म उहाँले संसद्बाट सम्बोधन गर्नुभएको छैन ।
प्रतिनिधिसभाको पहिलो अधिवेशन शुक्रबारबाट सकिइसक्दा पनि देशको अभिभावकीय संस्थाको नेतृत्वकर्ता आफ्ना मतदाता, आफ्ना जनता र जनताका प्रतिनिधिसामू अभिव्यक्त नहुनु त्यति असल अभ्यास होइन । हुन त बोल्ने वा नबोल्ने विषय उहाँको स्वेच्छा हो । तर, सामान्यतः संसद्को पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा हो ।
संसद्मा सम्बोधन नगर्ने, सांसदसँग प्रश्नोत्तर गर्ने अभ्यास पनि हटाउने तयारीजस्ता कुराले प्रधानमन्त्री संसद्प्रतिको उत्तरदायित्वमाथि भने प्रश्न उठेको छ । तर, यसो भन्न आज हतार हुन सक्छ । कारण, प्रधानमन्त्री नियुक्त भएको जम्मा १५ दिन भएको छ, सिङ्गै कार्यकाल बाँकी छ ।
तथापि, उत्तरदायित्व प्रमाणित गर्न प्रधानमन्त्रीले संसद् र नागरिकलाई सम्बोधन चाहिँ गर्नुपर्छ ।अर्कोतर्फ काठमाडौं महानगरपालिकाको मेयर छँदैदेखि जनतासँग साक्षात्कार नगर्ने भन्दै उहाँप्रति प्रश्न उठ्ने गरेको थियो । रहस्यमयी बस्ने कुरामा आलोचना पनि भएको थियो । त्यो रहस्यको पर्दा हटाउने उपयुक्त बेला भने अहिले नै हो । किनकि देशले आफ्नो प्रधानमन्त्रीलाई सुन्न चाहेको छ ।
हुन त प्रधानमन्त्री बोल्दै नबोल्नुभएको पनि होइन । बिहीबार खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा सहभागी भएर उहाँले सैनिकहरूलाई सम्बोधन गर्नुभयो । तर, उहाँको बोलीको प्रतीक्षामा रहेकाहरू भने कुरेको कुर्यै छन् । त्यसो त इन्धन संकटका कारण अहिले देशमा महँगी अचाक्ली छ ।
यस्तो बेला देशवासीलाई मितव्ययिता अपनाउन र नआत्तिन भनेरै सही प्रधानमन्त्रीले सम्बोधन गर्नसक्नुहुन्थ्यो । तर, उहाँको प्राथमिकतामा यो विषय छैन । प्रधानमन्त्री मात्र होइनन् उहाँका मन्त्रिपरिषद्का सदस्यले पनि अनुगमन र निरीक्षणमा जानेक्रममा निर्देशन दिनेबाहेक सार्वजनिक सम्बोधन गरेका छैनन् ।
मन्त्रीहरूलाई धेरे नबोल्न भन्दै प्रधानमन्त्रीबाटै ‘अघोषित प्रतिबन्ध’ भएको भनी आलोचना पनि हुने गरेको छ । यता नेपाली कांग्रेसका सभापति गगन थापाको मौनताले पनि नेपाली राजनीतिमा सन्नाटा छाएको छ । सार्वजनिक सरोकारका विषयमा मुखरित हुने थापा, चुनावी हारपछि त्यति बोल्न रुचाउनुभएको छैन ।
पार्टीकै आन्तरिक विषयमा पनि खरो रूपमा उत्रने थापाले पार्टी प्रस्ट दुई भागमा समानान्तररूपमा सञ्चालन भइरहँदा पनि सम्बोधन गर्न आवश्यक ठान्नुभएको छैन । जेन-जी आन्दोलनपश्चात् सबैतिर निःस्तब्ता छाएका बेला सबैभन्दा मुखर हुने थापा नै हुनुहुन्थ्यो । तर, त्यही आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका विषयमा उहाँ चुपचाप ।
एक समय थियो, थापा आफ्ना अभिव्यक्तिलाई राष्ट्रिय बहस बनाउन सामर्थ्य राख्नुहुन्थ्यो । सामाधानका उपाय प्रस्ताव गर्नुहुन्थ्यो । तर, अहिले प्रतिनिधिसभाको पहिलो अधिवेशन सकिँदासम्म पनि कांग्रेसले संसदीय दलको नेता छान्न सकेन । निर्णयको अधिकार हुँदाहुँदै पनि थापाले समाधान निकाल्न सक्नुभएन ।
यो बिलखबन्द उहाँको मौनताले सिर्जना गरेको हुनसक्छ । निर्वाचनको मौन अवधिदेखि नै मौन रहनुभएका थापा नैतिकताका आधारमा दिइएको राजीनामा अस्वीकृत भइसकेपछि मात्र केन्द्रीय कार्यसमिति बैठकमा बोल्नुभयो । त्यसयता उहाँको बोली एकाधपटकबाहेक फुटेको छैन ।
पछिल्लो समय इन्धनमा अचाक्ली मूल्यवृद्धि भएको छ । महँगी बढेको छ । तर, प्रमुख प्रतिपक्षी दलका सभापतिका हैसियतमा उहाँ यो विषयमा पनि चुपचाप हुनुहुन्छ । विशेष महाधिवेशनमार्फत कांग्रेस बदलिएको दाबी गर्ने थापा आफैं किन बदलिनुभयो ? उहाँको मौनता कहिलेसम्म ? नेपाली राजनीतिको सन्नाटा कहिले सकिएला ? अहिले यी प्रश्न पेँचिलो बनेका छन् ।