कांग्रेसले संसदीय दलको नेता वैशाख ४ मा चयन गर्ने

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले संसदीय दलको नेता वैशाख ४ मा चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । 

प्रतिनिधिसभाको पहिलो अधिवेशन सकिइसक्दा पनि दलको नेता चयन गर्न नसकेको कांग्रेसले अब भने मिति नै तोकेर नेता चयन गर्न लागेको हो । यसअघि सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने भनेर प्रक्रिया लम्बिएको थियो । अब भने सर्वसम्मत नभए निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

यस्तै २ गते नै निर्वाचन पक्रिया सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजकसमेत रहनुभएका सहमहामन्त्री प्रकाश रसाइलीले बताउनुभयो । संसदीय दलको नेताका लागि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीदेखि भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्कालगायतको दाबी छ । 

यद्यपि, पुस्तान्तरणको जनादेशका बीच युवालाई अघि सार्नुपर्ने माग पनि पार्टीभित्र बलियो बन्दै गएको छ । युवा सांसदहरू योगेश गौचन थकाली, निस्कल राई र बासना थापामध्ये एकलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज पार्टीभित्र छ ।

यता कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले भने पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई मिलाउन आङदेम्बेलाई दलको नेतामा अघि सार्ने योजना बनाइरहेको नेताहरूको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.