
दाङ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार थुनुवा तथा कैदी, लुटिएका हतियार र बदलिँदो परिस्थिति आसन्न निर्वाचनको लागि मुख्य चुनौती देखिएको छ, दाङमा । तर सुरक्षा निकाय भने आसन्न निर्वाचनमा सबै सुरक्षा प्रबन्ध मिलाइएको दावी गरिरहेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन सुरक्षाकोलागि विभिन्न योजना अघि बढाइएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै दाङमा निर्वाचन सुरक्षाका लागि अहिले दिनहुँ सुरक्षा समितिमा बैठक र रणनीतिबारे छलफल गर्नेदेखि निर्वाचन सुरक्षाबारे योजना बनाउने काम भइरहेको छ । भारतसँग सीमा जोडिएको ८३ किलोमिटर क्षेत्र रहेको दाङमा निर्वाचन तयारीको बारेमा सुरक्षा निकाएले रणनीति तयार गरेको बताएको छ ।
३ वटा निर्वाचन क्षेत्र रहेको दाङमा १ सय ५९ मतदान केन्द्र र ४८२ मतदान क्षेत्रलाई सुरक्षा संवेदनशिलताका आधारमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले १३४ संवेदनशील, १६अतिसंवेदनशील र नौ वटा सामान्य मतदानस्थलमा वर्गीकरण गरी एकीकृत सुरक्षा योजना बनाइएको छ भने व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार संकलन भइरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को खुला सिमाना र भौगोलिक विकटता, क्षेत्र नम्बर २ मा हुन सक्ने अराजक गतिविधि र क्षेत्र नम्बर ३ का केही क्षेत्रमा रहेको सडक सञ्जालको अभावलाई सुरक्षा जोखिमका रुपमा औंल्याइएको छ । आसन्न निर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा १६ राजनीतिक दलका ४४ जना र १६ स्वतन्त्र गरी ६० जना उम्मेदवार चुनावी मैदानमा छन् भने चार लाख ३१ हजार ६८७ मतदाता रहेका छन् ।