हरेक पटक फरक नतिजा आउने दाङमा यो निर्वाचन कस्तो होला ?

माघ २०, २०८२ |अमर क्षितिज भण्डारी
हरेक पटक फरक नतिजा आउने दाङमा यो निर्वाचन कस्तो होला ?

दाङ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । हरेक निर्वाचनमा फरक नतिजा दिने दाङ क्षेत्र नम्बर २ नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी नै मुख्य प्रतिष्प्रर्धीका रूपमा देखिएका छन् ।

२९ वर्ष अघि २०५१ सालमा दाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हालका एमाले महासचिव शंकर पोखरेल त्यसयता जनतबाट प्रत्यक्ष निर्वाचित भएर संसद छिर्न पाउनु भएको छैन । २०५६ मा काँग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ मा समानुपातिकबाट निर्वाचित भएपनि २०७० सालमा काग्रेसकै बुद्धिराम भण्डारीसँग पराजित हुनु भयो । 

२०७४ मा प्रतिनिधि सभामा प्रतिष्पर्धाको तयारीमा रहेका पोखरेल कृष्णबहादुर महराले क्षेत्र नछाडेपछि प्रदेशसभामा झर्नु भयो र एमाले माओवादी गठबन्धनबाट दाङ–२ क बाट निर्वाचित हुँदै लुम्बिनी प्रदेशसभामा संस्थापक मुख्यमन्त्री बन्नु भयो । २०७९ मा माओवादी नेतृ रेखा शर्मासँग १९३ को झिनो मतान्तरले पराजित हुनु भएको थियो । अहिले जसरी पनि जित निकाल्ने प्रयत्नमा एमाले छ ।

लामो राजनीतिक विरासत बोकेको परिवारका किरणकिशोर घिमिरेलाई काँग्रेसले पहिलोपटक उम्मेदवार बनाएको छ । दाजु कृृष्णकिशोर र भाइ कमल किशोरको चुनावी कमाण्डर बनेर चुनावको अनुभव संगालेको बताउने किरण किशोर यसपटक आफैं उम्मेदवार बनेर मैदानमा हुनुहुन्छ । आफू नयाँ उम्मेदवार रहेकाले पनि नयाँ परिवेश र नयाँ परिस्थिति आफ्नो पक्षमा रहने घिमिरेको दावी छ ।

काँग्रेस र माओवादी गठबन्धनबाट २०७९ को निर्वाचनमा निर्वाचित रेखा शर्मा उम्मेदवार नबनेपछि नेपाली कम्युनिष्ट पार्टीले निर्मल आचार्यलाई अघि सारेको छ । दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवार बनेर अनुभव संगाल्नु भएका आचार्य आफ्ना एजेण्डा र जनताको समर्थन आफ्नो जितको आधार भएको बताउनु हुन्छ ।

२०७९ को निर्वाचनमा १५ हजार ८ सय ६१ मतसहित तेस्रो भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका उम्मेदवार विशाल अधिकारीलाई पाखा लगाउँदै सहमहामन्त्री बिपिन आचार्यलाई उम्मेदवार बनाएको छ । पहिलो पटक चुनावी मैदानमा होमिनु भएका आचार्य आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभएर सुशासनका पक्षमा भएको बताउनु हुन्छ ।

दाङ २ मा घोराही उपमहानगरपालिकाका १५ तुलसीपुर उपमहानगरपालिकाका ४ वडा र बंगलाचुली गाँएपालिकाका ८ वडा रहेका छन् भने अहिले थपिएका ७ हजार २३६ सहित १ लाख ४० हजार ९ सय ४८ मतदाता रहेका छन् । उमेदवारहरूले आफूले जित्ने दाबी गर्दै चुनावी मैदानमा होमिए पनि हरेक पटक फरक नतिजा दिने यो क्षेत्रका मतदाताले कसलाई प्रतिनिधि छान्ने हुन् त्यो हेर्न केही समय कुर्नुपर्छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।