राष्ट्रिय जनमोर्चाद्वारा चुनावी घोषणापत्र-२०८२ सार्वजनिक

गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ,समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मूल नारा
माघ १४, २०८२ |अमृता अनमोल
राष्ट्रिय जनमोर्चाद्वारा चुनावी घोषणापत्र-२०८२ सार्वजनिक

बुटवल । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र-२०८२ सार्वजनिक गरेको छ । 

बुटवलमा बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गर्नुहुँदै चुनावमा पार्टी वैदेशिक हस्तक्षेप र संघीयता विरोधको मूल मुद्दा लिएर जनतामाझ जाने बताउनुभयो । अध्यक्ष केसीले जेन-जी आन्दोलनका नाममा असंवैधानिक र"पमा वैज्ञानिक आधार विना नै विदेशीको इशारामा अहिलेको संसद् भंग भएको र जनतामाथि अनावश्यक चुनाव लादिएको भए पनि जनमोर्चा चुनावबाट नभागेको बताउनुभयो । 

उहाँले देश, राष्ट्रियता र सावैभौमिकता सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउनुहुँदै पार्टी बलियो बनाउने भन्दा देश बलियो बनाउने र राष्ट्रियता बचाउने कुरामा जनमोर्चा लाग्ने बताउनुभयो । अध्यक्ष केसीले जेन-जी आन्दोलनमा युवाहरूले प्रकट गरेको असन्तोष र आक्रोश न्यायपूर्ण रहेको बताउनुहुँदै त्यसपछि सरकार गठन र देश सञ्चालनविधि विदेशीको इशारामा चल्दा देश संकटमा परेको दाबी गर्नुभयो। 

देश र राष्ट्रियता बचाउन भन्दै राष्ट्रिय जनमोर्चाले यसपालिको चुनावमा भ्रष्टाचार, पूँजीवाद, लोकप्रियतावादको विरोध गर्दै उद्योग, कृषि, पर्यावरण, पर्यटन विकास लगायतबाट देशको भविष्य कोर्ने मुद्दा लिएर जाने प्रतिबद्धता बनाएको छ । राष्ट्रिय जनमोर्चाले यसपालि चुनावी गठबन्धनको साटो एक्लै चुनावी मैदानमा जाने तयारी गरेको जनाएको छ । 

अघिल्ला चुनावमा गठबन्धन गरे पनि आफूहरूले सोचको सहयोग नमिलेकाले अहिले त्यसलाई प्राथमिकतामा नराखेको अध्यक्ष केसीको भनाइ छ । राष्ट्रिय जनमोर्चाले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ ४२ जिल्लाका ७७ निर्वाचन क्षेत्रमा उमेदवार उठाएको छ । समानुपातिकतर्फ १ सय १० जनालाई उमेदवार बनाएको छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।