
काठमाडौं । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई अघि बढाउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहरूलाई देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तिव्रता दिनुपरेको समेत बताउनु भयो । संयोजक दाहालले कम्युनिष्ट, देशभक्त शक्तिहरूको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरूको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरूरी रहेको बताउनु भयो ।