
बारा । बाराको परवानीपुर गाउँपालिका १ रहरियाडिमा बुहारीले प्रेमीसँग मिलेर श्रीमान् र सासुको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार बुहारी २३ वर्षीया मनिता देवी मण्डलले उनका प्रेमी धमेन्द्र महतोको सहयोगमा २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई धारिलो हतियार प्रयोग गरी योजनाबद्ध रूपमा हत्या गरेकी हुन् ।
उक्त आक्रमणमा ५२ वर्षीय ससुरा जगरूप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डल घाइते भएका छन् । दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रेमी धर्मेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए ।
माघ १२ गते काठमाडौं आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना घटाएको खुलेको हो । घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल रहेको बाराका प्रहरी एवं प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ । घटनापछि प्रहरीले मनितालाई आफ्नै घरबाट पक्राउ गरेको हो भने धमेन्द्र महतोलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको छ । हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।