
रसुवा । बुधबार बिहानदेखि रसुवा जिल्लाको उच्च हिमाली भू-भागमा हिमपात भएको छ ।
यो वर्षको पहिलो हिउँदे वर्षा तथा हिमपात भएको हो । हाल पनि जिल्लाको उत्तरी भेगमा हिमपात जारी रहेको छ । लाङटाङ, क्याङजीन, गोसाइँकुण्ड, धुन्चे लेक, देउराली, गतलाङ, चोलाङपाटी, लौरिविना, नगथली, चन्दनबारीलगायत विभिन्न स्थानमा हिमपात भएको छ । हल्का वर्षासँगै भएको हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा चिसो निकै बढेको छ ।
चिसो बढेसँगै स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । लाङटाङ र क्याङजीन क्षेत्रमा हिमपात भइरहेको स्थानीय ग्याल्बु तामाङले बताउनुभयाे । अत्यधिक चिसोका कारण धेरै स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन् । यो वर्ष ढिलो गरी हिमपात भए पनि वर्षा र हिमपात भएपछि किसानहरू भने खुसी भएका छन् ।
हिमपातका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने खासै असर नपर्ने देखिएको छ । उम्मेदवारहरू हाल जिल्लाको दक्षिणी भेगमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका कारण निर्वाचन गतिविधिमा प्रत्यक्ष प्रभाव नपरेको बताइएको छ । यद्यपि चिसो बढेकाले दक्षिणी भेगमा पनि घरदैलो गर्न केही समस्या देखिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्दै सूचना जारी गरेको छ ।