
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको छ । यस पटक नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै ११ सय ३१ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । सरकारसंग रिस उठेकादेखि पार्टीबाट टिकट नपाएकासम्मले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राजनीतिक व्यक्तित्वदेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार, युवा अभियन्ता तथा ‘जेन–जी’ युवासम्म स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
फागुन २१ को निर्वाचनमा ६८ दलले निर्वाचनमा भाग लिँदा ११ सय ३१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्, जुन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी धनुषा–१, धनुषा–३ र सिरहा–३ परेका छन्, जहाँ प्रत्येक क्षेत्रमा २९ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशगत रूपमा पनि मधेशमै सबैभन्दा धेरै ५ सय ५४ जना चुनावी मैदानमा छन् भने कर्णालीमा सबैभन्दा कम १२ जना मात्र स्वतन्त्र उम्मेदवार दर्ता भएका छन्। १ सय ६५ क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छैन । यसपटक ३ सय ८८ महिला उम्मेदवार बन्दा स्वतन्त्र १ सय ५७ जना छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा पार्टीबाट टिकट नपाएकादेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार तथा जेन-जी युवासम्म छन् । नेकपाले आफ्नो सट्टा मेटमणि चौधरीलाई टिकट दिएपछि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभयो । जनताको चाहाना र दलहरुको एकाधिकार विरुद्ध स्पष्ट एजेन्डासहित उम्मेदवार बनेको अधिकांसको भनाइ छ ।
त्यस्तै, सिन्धुली–२ मा पार्टीले राजन दाहाललाई उम्मेदवार बनाएपछि नेकपाका नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मन्त्रालयको काममा असहयोग भएको भन्दै राजीनामा दिनुभएका पूर्वशिक्षामन्त्री महावीर पुनले पनि म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै कानुनविद् प्राडा युवराज संग्रौलाले झापा २ तथा सामाजिक अभियन्ता निकोलस भुसालले रुपन्देही २ बाट उम्मेदवार बन्नुभएको छ । अधिकांशले सुशासन, भ्रष्टाचार नियन्त्रण र परिवर्तनको विषयलाई अघि सारेका छन् ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पर्ने गरे पनि विजयी हुनेको संख्या भने निकै न्युन हुने गरेको छ । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा १ सय ८ क्षेत्रका लागि चुनाव हुँदा २ सय ६८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए, जसमा चार जनाले मात्रै चुनाव जिते । सय ५ सिटका लागि भएको २०४८ को निर्वाचनमा २ सय १९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकामा तीन जना विजयी भए ।
२०५१ मा ३ सय ५८ जना उम्मेदवारमध्ये ७ जना विजयी भएका थिए भने २०५६ मा ६ सय ३३ जनाको स्वतन्त्र उम्मेदवारी पर्दा कोही पनि विजयी भएनन् ।
२०६४ मा ६ सय १ सिटका लागि भएको संविधान सभा निर्वाचनमा ८ सय १६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउँदा २ जना मात्रै विजयी भए भने २०७० मा १ हजार एक सय १५ को उम्मेदवारी परेकामा दुई जना मात्रै निर्वाचित भए ।
२०७४ मा ५ सय २ जना उम्मेदवारमध्ये हुम्लाबाट छक्कबहादुर लामामात्र निर्वाचित भएका थिए । गत निर्वाचनमा ८ सय ६७ स्वतन्त्र मध्ये ४ जना निर्वाचित हुन सफल भएका थिए ।