
रूकुम पश्चिम । नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यको सहमति भएकाे छ ।
दुई पार्टीबीच चुनावी सहकार्यको सहमति भएपछि यसलाई एमाले रूकुम पूर्वले त्सयलाई अस्वीकार गरेको छ भने पश्चिमले अनुमोदन गरेको छ । एमालेका तर्फबाट रूकुम पूर्वमा उम्मेदवार बनेका लिलामणी गौतमले सामाजिक सञ्जालमार्फत उक्त सहमति नमान्ने संकेत गर्नुभएकाे छ भने उक्त सहमतिलाई पश्चिमकाे सचिवालय बैठकबाट अनुमोदन गरिएको हो ।
रूकुम पूर्वका एमाले गौतमले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिनुभएको छोटो भिडियो समाजिक सञ्जालमा साँझा गर्दै लेख्नुभएकाे छ ‘केही दिनयता रूकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ । रूकुम पूर्वमा ढुक्कसँग सुर्य चिन्हमा मतदान गर्न पाइन्छ आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौ ।’
यस विषयमा थप प्रतिक्रिया दिँदै गौतमले प्रलोपाका उम्मेदवारले पनि आफूलाई समर्थन गर्नेगरी सहमतिको प्रयास भैरहेको पनि बताएका छन् । यता रूकुम पश्चिममा भने जिल्ला पार्टी कार्यालय मुसिकोटस्थित बागबजारमा मंगलबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने भनेर गरिएको सहमतिअनुसार अघि बढ्ने निर्णय गरेको हो ।
गत आइतबार रूकुम पूर्व र पश्चिममा एमालेका उम्मेदवारले प्रलोपाका उम्मेदवारलाई सघाउने एवं कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा साविक राप्तीका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा प्रलोपाका मतदाताले मतदान गर्ने केन्द्रीय सहमति भएको थियो । ।
यो सहमतिको पक्ष र विपक्षमा एमाले नेता–कार्यकर्ताहरूले विभिन्न धारणाहरू सार्वजनिक गरिरहेका छन् । यसैबीचमा सहमति भएको दुई दिनपछि दुवै जिल्लामा एमालेको यसप्रकारको धारणा आएको हो । यस विषयमा प्रलोपाका केन्द्रीय सदस्य गोरखबहादुर केसीले एमाले पश्चिमको निर्णय स्वावगतयोग्य भएको प्रतिक्रिया दिनुभएकाे छ भने पूर्वको विषयमा भने थप छलफल र संवादको जरूरी रहेको बताउनुभएकाे छ । ‘हामी पनि चुनावी प्रचारका क्रममा गाउँमा छौं । हामी जिल्ला फर्किएर आज साँझ अथवा भोली दुवै जिल्लाका एमाले नेताहरूसँग बसेर छलफल–संवाद गरी अघि बढाइनेछ ।’ उहाँले भन्नुभयाे ।