खै त घोषणापत्र ?

माघ १२, २०८२ |नारायण किलम्बू
खै त घोषणापत्र ?

काठमाडौै ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँदेखि पूराना सबै राजनीतिक दल घोषणापत्र बनाउन व्यस्त छन् । जेन–जी आन्दोलनको जगमा हुन लागेको निर्वाचन भएकाले अधिकांशले आन्दोलन र युवाका भावना समेट्ने प्रयास गरिरहेका छन् । अधिकांश दलले सुशासन, पारदर्शीता र भष्ट्राचारमुक्त समाजलाई प्रमुख एजेन्डा बनाएका छन्।

देशभर चुनावी सरगर्मी बढिरहेका बेला जनता समाजवादी पार्टी नेपालले जनतामाझ जान २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 'स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवाद' लाई आदर्शवाक्य मानेर जसपा नेपालले राष्ट्रिय समस्याको समाधान गर्न संविधान संशोधन अथवा पुनर्लेखन गरी मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएको छ । यसका साथै शिक्षा तथा स्वास्थ्यमा सुधारको प्रतिबद्धता पनि जसपा नेपालले जनाएको छ ।

२०७९ को निर्वाचनमा ठूलो दल बनेको नेपाली काँग्रेसले पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । बदलिएको पार्टीको रुपमा कांग्रेसले जेन-जी आन्दोलनमा उठेका युवापुस्ताको माग सम्वोधन हुनेगरी सुशासन, पारदर्शीता र भष्ट्राचारमुक्त समाजको निर्माण एवं शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिने गरी घोषणापत्र तयार गर्दैछ ।

नेकपा एमाले पनि 'समृद्ध नेपाल सुखी नेपाली' राष्ट्रिय लक्ष्य गन्तव्य निर्धारण गरेर बदलिँदो राजनीतिक परिवेश समेतलाई मध्यनजर गरि घोषणापत्र तयारीमा जुटेको छ । मुलुकको समग्र विकास, आर्थिक सामाजिक, शिक्षा तथा स्वास्थ्यको रुपन्तरण हुनेखालका घोषणापत्र तयार गरि जनतामाझ जाने एमालेले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि आसन्न निवार्चनमा जेन-जी आन्दोलनका माग सम्वोधन हुनेगरी घोषणापत्र बनाउन व्यस्त छ । रास्वपाले युवालाई लक्ष्य गर्दै स्वदेशमै उद्यमशीलता विकास गर्ने र १० वर्षभित्र सम्मानजक आय स्थापित हुनेखालका योजनासहित घोषणा बनाउँदैछ ।

यी बाहेक पनि नेपाली कम्युनिष्ट पार्टी, उज्यालो नेपाल पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि साना तथा नयाँ दलहरु पनि चुनावी घोषणापत्र बनाउन व्यस्त छन् । चुनावको समयमा आकर्षक योजना र नाराका साथ घोषणापत्र तयार गर्ने तर चुनाव जितेर गएपछि प्रतिबद्धता बिर्सने प्रवृत्ति छ । यो प्रवृत्ति यसपटक दोहोरिनुहुन्न ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।