
काठमाडौं । युरोपली च्याम्पियन्स लिगमा बुधबार राति पौने २ बजे महत्वपूर्ण १८ खेल एकै समयमा आयोजना हुँदैछ।
लिग चरणको अन्तिम खेल भएको कारण सबै खेल एकै समयमा हुँदा शीर्ष ८ मा पर्न र उत्कृष्ट २४ टिम बन्ने प्रतिस्पर्धा पेचिलो बन्ने भएको छ। अहिलेसम्म आर्सनल र बार्यनले मात्रै नकआउटमा सिधा स्थान पक्का गरिसकेको कारण ६ टिमको टुंगो लाग्न बाँकी छ।
लिगमा पीएसजी र न्युकासलबीच अन्तिम १६ मा पुग्ने निर्णायक खेलमा पेचिलो प्रतिस्पर्धा हुने देखिन्छ। हाल दुवै टोली १३-१३ अंकसहित शीर्ष आठभित्र रहेका छन्। डिफेन्डिङ च्याम्पियन पीएसजी स्पोर्टिङसँग २-१ को हार बेहोरे पनि छैटौँ स्थानमा छ भने न्युक्यासल पीएसभीलाई ३-० ले पराजित गर्दै सातौँ स्थानमा रहेको छ।
बुधबारको जितले पीएसजीलाई लगातार १४औँ पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्याउनेछ। प्रशिक्षक लुइस एनरिकेको टोलीले गत साता लिग-१ मा पुनः शीर्ष स्थान हासिल गरेको छ। घरेलु मैदानमा पीएसजीले हालको लय पनि मजबुत बनाएको छ। पार्स दे प्रिन्सेसमा पछिल्ला छ प्रतिस्पर्धात्मक खेलमध्ये पाँचमा जित हात पारेको पीएसजीको एउटै हार फ्रेन्च कपको राउन्ड अफ ३२ मा पेरिस एफसीसँग १-० को थियो।
च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा पीएसजीले अघिल्ला सातमध्ये छपटक जित निकालेको छ। उनीहरू सन् २०१७ डिसेम्बरमा बायर्न म्युनिखसँग ३-१ ले पराजित भएयता नकआउट चरणअघि अन्तिम खेलमा पराजित भएका छैनन्। यद्यपि, बुधबार पराजय भोगेमा सन् २००४ पछि पहिलोपटक समूह चरणमा दुई घरेलु खेल हार्ने अवस्था आउन सक्छ।
यसैगरी बार्सिलोना र कोपनहेगनको खेलको नतिजाले पनि टिमको भविष्यमा ठूलो प्रभाव पर्नेछ। बार्सिलोनालाई शीर्ष ८ मा रहने चुनौती छ भने कोपनहेगनले खेल हारेमा ऊ च्याम्पियन्स लिगबाट इलिमिनेट हुनेछ। लिगमा बार्सिलोनाको १३ अंक छ। लिगमा अहिले छैटौं देखि १३ औं स्थानसम्म रहेका ८ क्लबको समान १३ अंक रहेको कारण अंकतालिकामा पनि दबाबपूर्ण प्रतिस्पर्धा हुनेछ।