अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

माघ १४, २०८२ |रासस
अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री चुनावी मैदानमा होमिएका भन्दै टिप्पणी गर्नुभएको छ । 

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाउनुभएको हो । गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का चार जना मन्त्रीले राजीनामा दिई निर्वाचनमा उम्मेदवार दिइसकेका छन् । यसले सरकारको नैतिकतामाथि प्रश्न उठ्नसक्ने भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

सांसद नारायणदत्त भट्टले नागरिक सरकार गठन हुँदाको विश्वासअनुसार कार्यसम्पादन हुनुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । नागरिक सरकारमा बसेरै निर्वाचनको उम्मेदवार बन्नु आपत्तिजनक भएको भन्दै उहाँले सत्ताका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले जेन-जी आन्दोलनका शहीदहरूको स्मरण गर्दै शान्तिसुरक्षामा सुरक्षा निकायको भूमिका थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन घोषणा भएपछि नैतिक जिम्मेवारीबाट पन्छिँदै मन्त्रीहरूले राजीनामा दिई दलका झन्डा बोकेर चुनावी मैदानमा जानु अनुचित भएको उहाँको भनाइ छ ।

सांसद सुमित्रा बिसीले छ महिनाभित्र चुनाव गराउने प्रतिबद्धतासहित आएको सरकारले बीचमा जिम्मेवारी छाड्नु गैरजिम्मेवारीपूर्ण भएको धारणा राख्नुभयो । उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले आगामी निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद मायाप्रसाद शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन जोड दिनुभयो । उहाँले सरकारले राष्ट्रिय गौरवका आयोजनाका बजेट रोक्का गर्न नहुने धारणा राख्नुभयो । उहाँले संसद् विघटनपछि सभा सञ्चालनका लागि पहल गरेकामा सभाध्यक्षप्रति आभार पनि व्यक्त गर्नुभयो ।

सांसद भुवनबहादुर सुनारले संसद्ले बनाएको बजेट सरकारले रोक्न नहुने धारणा राख्नुभयो । वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।