
महोत्तरी । परराष्ट्रमनन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नु भएको छ ।
बुधबार सदरमुकाम जलेश्वर आई पुग्नु भएको परराष्ट्रमन्त्री शर्माले सिमावर्ती गाँउ मलिवाडा र नैन्हीस्थित मतदान केन्द्रको स्थलगत निरिक्षण अनुगमन गर्नु भएको हो । अनुगमनपश्चात् प्रतिक्रिया दिनु हुँदै मन्त्री शर्माले फागुन २१ गते हुने निर्वाचनको लागि नेपाल सरकारको सुरक्षाकर्मी र निर्वाचन अधिकृतहरूको कस्तो तयारी छ त्यसबारे जानकारी लिन महोत्तरी आएको बताउनु भयो ।
फागुन २१ गते हुने चुनावमा सुरक्षाकर्मीहरू र जनप्रतिनिधिहरूको पनि बराबरको भूमिका हुन जान्छ । “महोत्तरी आउनुको मूख्य कारण नेपाल सरकारले निर्वाचनका लागि कुन किसिमको सहयोग गरिदिनु पर्छ, कुनै किसिमको कठीनाइ छ कि ? त्यो बुझन आएको छु ।” उहाँले भन्नु भयो ।
“चुनावलाई भयरहित र व्यवस्थित बनाउन निर्वाचनमा कुनै अवरोध सृजना हुन्छ कि भनेर हेर्न आएको थिए , हेरेपछि सामान्य नै लागेको छ ।” परराष्ट्रमन्त्री शर्माले भन्नु भयो “नेपाल पट्टीको सशस्त्र प्रहरी र भारत पट्टीको एसएसबीसँगको समन्वय राम्रो भएकोले चुनावमा नकारात्मक असर पर्ने जस्तो लागेन ।”
निर्वाचनको अर्को कुनै विकल्प छैन, निर्वाचन गर्नै पर्छ । सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिनुहुँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग महोत्तरीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारी समेत लिनुभएको छ ।
मन्त्री शर्मालाई महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलगायतका सुरक्षा अधिकारीहरूले जिल्लाको चुनावी सुरक्षा तयारीबारे जानकारी गराउनु भएको थियो । महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ ।
निर्वाचन क्षेत्र नं १ मा २५ , क्षेत्र नंं २ मा ३७ , क्षेत्र नं ३ मा ४१ र क्षेत्र नं ४ मा ३६ सहित १३९ उम्मेदवार प्रतिस्पर्धामा रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरूष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ ।