
नेपालगन्ज । नेपाली सेना र नेपाल प्रहरीले बाँके–बर्दियाका स्थानीय तहहरूसँग सुकुमवासीको विवरण माग गरेको छ । सेनाको बज्रदल गण इमामनगर ब्यारेक बाँकेद्वारा लेखिएको पत्रमा सुकुमवासी बस्तीको स्थान, सुकुमवासी बस्ती बसेको मिति, घरधुरी संख्या, बस्तीको पदाधिकारीको सम्पर्क नम्बर र अन्य केही भएमा सो विवरणसमेत खुलाइ पठाइदिन भनिएको छ ।
पत्रमा नेपाल सरकारको शासकीय सुधारको सय बुँदे कार्यसूचीमा देशभरका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको लगत तयार गर्ने, वास्तविक सुकुमवासीहरूलाई चरणबद्धरूपमा जग्गा उपलब्ध गराउनेजस्ता विषयहरू समावेश भएको र ती कार्यान्वयनको चरणमा रहेको व्यहोरा उल्लेख छ । बाँके प्रहरीले सुरक्षा चुनौती हुनसक्ने तत्त्वहरूबारे तथ्याङ्क अद्यावधिक गर्ने प्रयोजनका लागि सुकुमवासीहरूबारे पालिका सरकारसँग जानकारी माग गरिएको जनाएको छ ।
यसैबीच नेपाली सेनाले विपदजन्य घटनाको पूर्वतयारीका लागि मात्रै विवरण अद्यावधिक गरिएको जनाएको छ । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता राजेन्द्र बस्नेतले विवरण अद्यावधिक भएका जोखिमयुक्त क्षेत्र छुट्याएर पूर्वतयारीका लागि काम गर्न सजिलो हुने प्रष्ट पार्नुभयो। उहाँले सुकुम्बासीको मात्रै विवरण माग अन्य क्षेत्रको पनि विवरण अद्यावधिक गरिएको बताउनुभयो । त्यसैगरी नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले केन्द्रको निर्देशनबमोजिम नभई जिल्लास्तरीय सुरक्षा समितिले अनाधिकृतरूपले बसोबास गरेका बसेकाहरूको रेकर्ड राख्नको लागि विवरण मागेको हुनसक्ने बताउनुभएको छ । सुरक्षाका दष्ट्रिले को कहाँ कसरी बस्छन् भन्ने विवरण राख्नुपर्ने भएकाले यसलाई त्यसैअनुरूप बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।