सुकुम्वासीको आशा-सरकारले ओत लाग्ने जमिन देओस्

वैशाख १५, २०८३ |प्रकाश बम
सुकुम्वासीको आशा-सरकारले ओत लाग्ने जमिन देओस्

काठमाडौं । सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाउँदा धेरैले धेरैथरि भने । सुकुम्बासीका नाममा गैरसुकुम्बासी बसेको भनेर आलोचन भए । कतियले 'हुकुमबासी' शब्दसमेत प्रयोग गरे । सरकारले बस्तीबाट हटाइएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर वास्तविक सुकुम्बासी पहिचान गर्ने काम गरिरहेको छ । होल्डिङ सेन्टरमा राखिएका उनीहरुको अवस्था के छ ?

कीर्तिपुरस्थित राधास्वामी सत्संगमा हलको ढोकामै बस्नु भएकी ७० वर्षीया कान्छीमाया घले भावविहल हुनुभयो । २० वर्षदेखि बस्दै थापाथलीमै उहाँका आफन्त बिते । त्यो ठाउँ सुकुम्बासी बस्तीमात्र थिएन, आफन्तको याद दिलाउने थलो पनि थियो । अब उहाँको सरकारसंग एउटै अपेक्षा छ- आफ्नै नामको जमिनमा प्राण त्याग्न पाइयोस् ।

३१ वर्षीय राजु खत्रीलाई प्रशासनले दिएको नागरिकतामा उल्लेख आफ्नो नामबाहेक आफ्नै परिचय थाहा छैन- न बा, न आमा । त्यसमाथि श्रीमतीले छाडेर गएपछि ४ वर्षकी छोरीमात्रै सहारा बनेकी छन् । तर छोरीलाई पढाउन पैसा छैन । मजदुरी गर्दा हातमा लागेको चोट बल्झिएको छ । उपचार गर्न खल्ती रित्तो छ ।

हामी यहाँ आइपुग्दा काठमाडौंको एक कलेजका विद्यार्थीहरु त्यहाँका बालबालिका खेलाइ रहेका थिए । बालबालिकाहरु पनि रमाइलो मानेर खेलिरहेका देखिन्थे- कोही क्यारेम त कोही मोबाइल । तर उनीहरुका अभिभावक भने उनीहरुको भविष्यलाइ लिएर निकै चिन्तित थिए ।

मंगलबार काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल पनि यहीँ नै भेटिनुभयो । २५ वर्षीय सुनिता माझीले कार्यवाहक मेयरसँग चिन्ता व्यक्त गर्नुभयो–अब हाम्रा बालबालिका कहाँ पढ्छन् र कहिले स्कूल जान्छन् । पछि कुरा गर्ने क्रममा थाहा भयो- उहाँ आफैंले १२ कक्षाको परीक्षाको तयारी नै गर्न पाउनुभएको रहेनछ ।

हलको मध्यभागमा हिरा हजारा पासवान श्रीमतीसँगै चिन्तामा देखिए । हामीले कुरा गर्न खोज्दा आफ्नो डालो देखाएर दुवैले गुनासो पोखे- बाहिर सबैले हुकुम्बासी भन्छन् । हेर्नुस् स्थिति । डालोमा उनीहरुको जिविकाको साधन थियो- जसमा उनीहरुले काफल चना लगायतका सामग्री बेच्दै आएका थिए । अब सरकारसंग उनीहरुको माग छ- छानविन गरेर सरकारले ओत लाग्ने जमिन देओस्

थापाथली र सिनामगंलबाट ल्याइएका ४८ परिवार यहाँ बस्छन । सबैका आ-आफ्नै पिडा छन । सरकारले खाना खाजा र सुत्नका लागि कपडा दिएको छ । तर आफ्ना सन्तानको भविष्य र आफ्नो बर्तमान अवस्थाले भोक र निन्द्रा दुवै छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।