आइसीसी वुमन्स टी-ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
आइसीसी वुमन्स टी-ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

काठमाडौं । आइसीसी वुमन्स टी-ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले तेस्रो जित हात पारेको छ । नेपालले आज भएको खेलमा घरेलु टीम रुवान्डालाइ ३८ रनले पराजित गरेको हो ।

किगालीस्थित गहांगा क्रिकेट स्टेडियम ओभल बी मा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । शीर्ष चार ब्याटर सिंगल रनमा पभेलियन फर्किएका थिए । संझना खड्का ६, विन्दु रावल २, पुजा महतो ५ र रुवि पोदार ६ रनमा आउट भएका थिए । कविता कुंवरले २४ रन जोड्दा कप्तान इन्दु बर्मा ३३ रनमा अविजीत रहिन् । हेनरिएट इसिम्वीले तीन विकेट लिइन् । 

जवाफमा रुवान्डा १७ ओभर ४ बलमा ६५ रनमा अल आउट भयो । कप्तान मारीएले सर्वाधिक १९ र जियोभानिस उवासेले १२ रन बनाए । मनिसा उपाध्याले तीन, कविता कुंवर, रचना चौधरी र रिया शर्माले दुई-दुई विकेट लिए । नेपालले जारी प्रतियोगितामा रुवान्डालाई दोस्रो पटक हराएको हो । नेपालले अमेरिकासँग दुई पटक पराजय बेहोर्दा भानुआतुमाथि जित पारेको थियो । नेपालले इटालीलाई पनि हरायो । नेपालले अब बिहीबार भानुआटुसँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.