मधेशमा दल फेर्नेदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्मको उम्मेदवारी

नयाँ दलको चर्चा चुलिँदा पुरानोको प्रभाव कायमै
माघ ९, २०८२ |विनय आजाद
मधेशमा दल फेर्नेदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्मको उम्मेदवारी

सिरहा । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार ५४ जनाले उम्मेदवारी दिएका छन् । 

सबैभन्दा बढी १ सय ५४ जनाले धनुषामा उम्मेदवारी दिँदा सप्तरीमा सबैभन्दा कम १ सय ४ जना उम्मेदवार मैदानमा छन् । टिकटका लागि दल फेर्नेदेखि निर्वाचन क्षेत्र फेर्नेसम्म अनि पूर्वमन्त्रीदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्मको उम्मेदवारीले त्यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

मधेशका चर्चित नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी-३ बाट उम्मेदवार बन्नुभएको छ । २०७९ को चुनावमा सप्तरी-२ बाट हार्नुभएका यादव उपनिर्वाचनमार्फत बारा-२ बाट निर्वाचित भई संसद् छिर्नुभएको थियो । यादवलाई पराजित गर्नुभएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने यसपटक पनि सप्तरी-२ बाटै प्रतिस्पर्धामा हुनुहुन्छ । 

रोचक त के छ भने राउतले नै मधेशमा मुख्यमन्त्री बनाएका सतिश सिंह जनमत छाडेर स्वाभिमान पार्टीबाट राउतसँगै प्रतिस्पर्धा गर्न सप्तरी-२ बाट उम्मेदवार बन्नुभएको छ । यसअघि सिरहा-२ बाट निर्वाचित जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव आफ्नो पुरानै क्षेत्र सिरहा-४ मा फर्किनुभएको छ । 

युवा तथा खेलकुदमन्त्रीबाट राजीनामा दिएर बब्लु गुप्ता रास्वपाबाट सिरहा-१ मा उम्मेदवार बन्नुभएको छ । धनुषा-४ बाट एमाले उपमहासचिव रघुवीर महासेठ र धनुषा-३ बाट उहाँकी पत्नी जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । धनुषा-३ बाटै नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि र रास्वपा प्रवक्ता मनिष झा पनि चुनावी प्रतिस्पर्धामा उत्रिँदा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 

नेकपा नेता मातृकाप्रसाद यादव धनुषा-१ बाटै उम्मेदवारी दिनुभएको छ । २०७९ मा उहाँ यस क्षेत्रबाट जसपा नेपालका दीपक कार्कीसँग पराजित हुनुभएको थियो । जसपा नेता शरतसिंह भण्डरी महोत्तरी-२ र नेकपाका गिरिराजमणि पोखरेल क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुुहुन्छ । 

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाबाट महेन्द्र राय यादव पुरानै क्षेत्र सर्लाही-२ बाट प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ मा उम्मेदवार बन्नुभएको छ । सर्लाहीको सबैभन्दा चर्चित क्षेत्र नम्बर ४ हो । यहाँबाट नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टी सभापति गगन थापा उम्मेदवार हुनुहुन्छ भने रास्वपाबाट पूर्वकांग्रेसी अमरेश सिंह उठ्नुभएको छ । 

रौतहट-१ मा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, ४ मा आजपाबाट सञ्चारकर्मी ऋषि धमला उम्मेदवार बन्दा चर्चामा छ । कांग्रेसबाट यहाँ दुई पटक निर्वाचित देवप्रसाद तिमिल्सिना उम्मेदवार हुनुहुन्छ । 

बारा ३ बाट कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर उम्मेदवार बन्दा जसपाबाट पर्सा १ मा चुनाव जित्दै आएका प्रदीप यादव चुनावको मुखैमा पार्टी फेरेर एमालेबाट उम्मेदवार बन्नुभएको छ । पर्सा-२ मा कांग्रेसले पूर्वमन्त्री अजय चौरसिया नै दोहोर्‍याएको छ । यसरी राजनीतिमा स्थापित, चर्चित र नयाँ उम्मेदवारहरूको उपस्थितिले मधेशको चुनावलाई रोमाञ्चक बनाइदिएको छ ।

मधेशमा मनोनयनपछि निर्वाचनलाई लक्षित गर्दै चुनावी चहलपहल तीव्र बनेको छ । नयाा र पुराना दुवै दलहरूले घरदैलो, सभा-सम्मेलन र रणनीतिक भेटघाटलाई गति दिएका छन् । सडकदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस बढिरहेको छ । मुलुकका अन्य भेग झैा मधेशमा पनि नयाा पुराना दल बहसको केन्द्रमा छन् । 

भ्रष्टाचार, कुशासन, गुटबन्दी र जनअपेक्षा पूरा गर्न नसकेकोजस्ता आरोप पुराना दलहरूमाथि छ । यही असन्तुष्टिलाई आधार बनाएर नयाा राजनीतिक शक्ति उदाउने प्रयासमा छन् । तर, नयाँ दलहरूले केवल 'परिवर्तन' को नारा दिएर मात्र मतदाताको विश्वास जित्नसक्ने अवस्था छैन । 

मधेशमा राज्यप्रति अविश्वास र विगतका अधुरा वाचाले मतदातालाई सजग र सचेत बनाएको छ । अर्को, सामाजिक सञ्चालमा चर्चाभन्दा पनि संगठन, उम्मेदवारको सार्वजनिक छवि, व्यक्तिगत लगाव र यहाँका मुद्दाका आधारमा यहाँ मत खस्ने गर्छ ।यसैगरी, मधेशका मतदाता गणतन्त्र र संघीयताप्रतिको राजनीतिक चेतनाका कारण पनि संवेदनशील रहने गर्छन् । 

संघीयता, स्वसाशन, समावेशिता, पहिचान र अधिकारका मुद्दामा स्पष्ट धारणा राख्ने तथा यसका लागि संघर्ष गर्ने दलहरूलाई मत दिने चलन रहँदै आएको छ । त्यसकारण पनि वैचारिकरूपले अस्पष्ट नयाँ दललाई मधेशमा भोट पाउन सजिलो नहुने यहाँका बासिन्दा बताउँछन् ।

तर, सामाजिक सञ्जालमा चर्चा भए जसरी नै नयाँ दल उदाउँछन् वा पुरानै दलको बर्चस्व कायम रहन्छ भन्ने कुरा भने चुनावी परिणामले बताउनेछ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।