
काठमाडौं । इंग्ल्यान्ड आईसीसी पुरूष टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।
साेमबार सम्पन्न उतारचढावपूर्ण खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले दोसो चरणको यात्रा तय गरेको हो । यससँगै समूह सीबाट इङ्ल्यान्ड र वेस्ट इन्डिज अन्तिम ८ मा प्रवेश गर्दा इटाली र स्कटल्यान्ड बाहिरिएका छन् । यसै समूहमा रहेको नेपाल भने यसअघि नै बाहिरिइसकेको छ ।
इडेन गार्डन कोलकातामा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय २ रनको योगफल तयार पारेको थियो । खराब सुरूवात गरेको इंग्ल्यान्डका कप्तान जोस बटलर ३ रनमै आउट भए भने फिल साल्टले २८ रन बनाए ।
ज्याकब बेथेल २३, टम ब्यान्टन ३०, ह्यारी ब्रुक १४ र स्याम करन २५ रनमा बाहिरिए । विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा बदलिदिए । उनले २२ बलमा अविजित ५३ रन बनाए । इटालीका लागि ग्रान्ट स्टीवर्ट र कृष्ण कालुमागेले समान २-२ विकेट लिए ।
२ सय ३ रनको लक्ष्य पछ्याएको इटालीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । साहसिक प्रदर्शन गरेको नवप्रवेशी इटाली एक समय ऐतिहासिक उलटफेरको संघारमा पुगेको थियो । पहिलो ओभरमै जोफ्रा आर्चरले दुई विकेट लिए पनि बेन मानेन्तीले २८ बलमा ६० रन प्रहार गर्दै खेल रोमाञ्चक बनाए ।
त्यसपछि ग्रान्ट स्टुवर्टले २५ बलमा ४५ रन जोड्दै इटालीलाई जिततर्फ उन्मुख राखे । अन्तिम १२ बलमा ३० रन आवश्यक हुँदा स्याम करनले स्टुवर्टलाई आउट गरेपछि इंग्ल्यान्ड खेलमा फर्कियो । अन्तिम ओभरमा २५ रन चाहिएको अवस्थामा जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै इटालीलाई १७८ रनमै समेटे ।
जितसँगै इंग्ल्यान्ड सुपर ८ मा पुग्ने चौथो टोली बनेको छ । यसअघि वेस्ट इन्डिज, भारत र दक्षिण अफ्रिकाले दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेका थिए । विश्वकपमा अहिले श्रीलंका र अस्ट्रेलियाबीचको खेल जारी छ । आईसीसी पुरूष टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र म्याक्स टुबाट भइरहेको छ ।