टी-२० विश्वकप : नेपालले भाेलि स्कटल्यान्डको सामना गर्ने

फाल्गुन ४, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : नेपालले भाेलि स्कटल्यान्डको सामना गर्ने

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार स्कटल्यान्डको सामना गर्दैछ । 

मुम्बईस्थित वानखेडे स्टेडियममा खेल नेपाली समअअनुसार साझ सवा ७ बजे सुरू हुनेछ । समूह 'सी' बाट सुपर ८ मा पुग्ने दुई टोली इ‌ंग्ल्यान्ड र वेस्ट इन्डिज पहिले नै तय भइसकेकाले यो खेल दुवै टोलीका लागि औपचारिकतामात्र बन्ने छ । तर पनि दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

नेपालले पहिलो खेलमा इ‌ंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो । दोस्रो खेलमा डेब्यु टोली इटालीसँग पराजित भयो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुन पुग्यो । लगातार हारका बाबजुद कप्तान रोहित पौडेल नेतृत्वको टोली अन्तिम खेलमा जित निकाल्दै सकारात्मक सन्देश दिन चाहन्छ । नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पार्ने योजनामा हुने छ ।

स्कटल्यान्डले प्रतियोगिताको सुरूआत वेस्ट इन्डिजसँग ३५ रनको हारबाट गरेको थियो । त्यसपछि इटालीलाई ७३ रनले पराजित गर्दै पुनरागमन गर्‍यो । तर पछिल्लो खेलमा इ‌ंग्ल्यान्डसँग पाँच विकेटको हार व्यहोरेको थियो । सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेपछि स्कटल्यान्डको प्लेअफ सम्भावना समाप्त भएको हो ।

टी-२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म दुई खेल भएका छन्, जसमा दुवैले एक-एक जित हात पारेका छन् ।