जनताको आकर्षण हामीतिर छ : उपेन्द्र यादव

फाल्गुन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनताको आकर्षण हामीतिर छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरूप्रति बढेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय प्रेस क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागि अनुकूल वातावरण भएको दाबी गर्नुभएको हो । पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उहाँको भनाइ छ । 

उहाँकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो । राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरू स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उहाँले बताउनु भयो । सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उहाँको जिकिर छ । 

उहाँले आफूहरूले सधैं जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गनुभयो । उहाँले देश विकासको लागि नयाँ र पुराना दुवै पुस्ता आवश्यक रहेको बताउनु भयो । वर्तमान राजनीतिक बहसमा देखिएको पुराना नेतृत्व असफल र नयाँ पुस्ताको नेतृत्व अनुभवहीन भन्ने दुवै भाष्य भ्रामक र नियोजित रूपमा खडा गरिएको उहाँले दाबी गर्नुभयो । 

यी दुवै भाष्यहरू गलत भएको उहाँको भनाइ छ । उहाँले पुराना नेतृत्वको अनुभवलाई नयाँले सिक्नुपर्ने र नयाँ पुस्ताको उर्जालाई पुरानाले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । अनुभव र ऊर्जाको समन्वयबाट मात्रै मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने उहाँको भनाइ छ । 

नयाँ र पुरानाबीच द्वन्द्व सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताको विरूद्ध भएको उहाँले बताउनु भयो । अध्यक्ष यादवले लोकतन्त्रको स्थापना नै नेतृत्व रूपान्तरणका लागि भएको उल्लेख गर्नुभयो । लोकतन्त्र परिवर्तनको आधार भएको बताउँदै उहाँले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रक्रियालाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.