त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा

फाल्गुन ४, २०८२ |खेल ब्युरो
त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा

उदयपुर । विभागीय टिम त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

साेमबार सम्पन्न खेलमा न्युरोड टिम एनआरटीलाई ६-१ गोलको विशाल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । उदयपुरको थारुहट रङ्गशालामा आर्मीलाई सानदार जित दिलाउन जेनिफर रानाले ह्याट्रिक गरिन् । 

खेलको १२औं मिनेटमा जेनिफरको गोलमार्फत आर्मीले सुरूवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि उनले ब्रेस पुरा गरिन् । ३४ मिनेटमा कविता गुरुङले गोल गरेपछि एनआरटीले पुनरागमनको प्रयास गरेको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा दिपा राईले गोल गरेपछि आर्मीले ३-१ को अगता बनायो ।

७२ मिनेटमा जेनिफरले ह्याट्रिक गरिन् । सपना लामाले ८१ र ९०औं मिनेटमा गोल गरेपछि आर्मीले ६-१ को फराकिलो जित हात पार्यो । यससँगै आर्मीसहित नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार संकटा फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडबीचको चौथो क्वार्टरफाइल खेलपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा हुने छ । 

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार र र उपविजेतालाई ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।