
काठमाडौै । मुलुक चुनावमय बनिरहँदा राजनीतिक दलहरूले प्रचार तीव्र पारेका छन् । नेतृत्व परिवर्तन, प्रधानमन्त्रीका उम्मेदवारको घोषणा र सुशासनको नारासहित प्रमुख राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका छन् । जेन जी आन्दोलनका कारण हुन लागेको यसपटकको चुनाव नेतृत्व पुस्तान्तरणको बहसमा केन्द्रित देखिन्छ।
कांग्रेस र एमाले स्थायित्व र अनुभवी नेतृत्वको पक्षमा उभिँदा, रास्वपा र नयाँ दलहरू पुरानो राजनीतिक संस्कृतिविरुद्ध विद्रोहीविशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले यही १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण हुँदैछ भने कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावमा होमिने रणनीति बनाएको छ।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये करिब एक सय क्षेत्रमा नयाँ उम्मेदवार उतारेर कांग्रेसले बदलिएको सन्देश दिन खोजेको देखिन्छ । शासकीय स्वरूप र संरचनागत सुधार, रूपान्तरण, सुशासन, विकास, रोजगारी र राजनीतिक स्थायित्व कांग्रेसका मुख्य चुनावी नारा हुन् ।
यता, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय संकल्पलाई निरन्तरता दिने जनाएको छ। संविधानको रक्षा, राष्ट्रिय अर्थतन्त्रको निर्माण, पूर्वाधार विकास, सुशासन, स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा, मानवअधिकार र राष्ट्रवाद एमालेका प्रमुख एजेण्डा हुन्।अध्यक्ष ओली स्वयं जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै चुनावी घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एमाले अध्यक्ष ओलीविरुद्ध बालेन्द्र शाहलाई उम्मेदवार बनाउँदै उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ। रास्वपाले स्थापनाकालदेखि उठाउँदै आएको अकुत सम्पत्ति छानबिन र ठूला भ्रष्टाचार काण्डको अनुसन्धानलाई मुख्य चुनावी मुद्दा बनाएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता आधारभूत विषयसँगै नयाँ दल नयाँ विकल्प” भन्ने सन्देशसहित रास्वपाले सामाजिक सञ्जाल र युवा मतदातालाई केन्द्रमा राखेको छ। जेनजी आन्दोलनको स्वामित्व र सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि भएको कारबाहीलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै सहानुभूति बटुल्ने प्रयास पनि रास्वपाले गरिरहेको छ ।
माओवादी केन्द्रसहित दर्जनभन्दा बढी दल मिलेर बनेको पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले दाहाल सरकारको कार्यकालमा भ्रष्टाचार नियन्त्रणमा काम भएको दाबी गर्दै सुशासनको वकालत गरिरहेको छ। शिक्षा, स्वास्थ्य र रोजगारी नेकपाका साझा मुद्दा हुन् । सामाजिक अभियन्ता, युवा, महिला तथा अवसर नपाएका व्यक्तिलाई टिकट दिएर यसपाली नेकपा फरक देखिन खोजेको छ।
यता, राजसंस्था र सनातन हिन्दुराष्ट्रको वकालत गर्दै आएको राप्रपाले राजनीतिक स्थायित्वका लागि राजसंस्था आवश्यक भएको तर्क गरिरहेको छ। पुराना दलको असफलताकै कारण विकास हुन नसकेको भन्दै राप्रपाले भ्रष्टाचार न्यूनीकरण र सुशासनमार्फत सेवा प्रवाह सुधार गर्ने एजेण्डा अघि सारेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा, सिके राउतको जनमत पार्टीदेखि पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृत पार्टी र पश्चिमको नागरिक उन्मुक्ति तथा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसम्म आ–आफ्ना क्षेत्रीय र राष्ट्रिय मुद्दासहित चुनावी मैदानमा छन् ।