
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिङ तोकेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत अनुमान समितिले चालु आर्थिक वर्षको बजेटभन्दा ७६ अर्ब कमको सिलिङ तोकिएको हो । योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठकाअनुसार स्रोतको सीमितता र कमजोर खर्च गर्ने क्षमताका आधारमा यस्तो सिलिङ तोकिएको हो ।
वैदेशिक अनुदान तथा ऋणसमेत अपेक्षाअनुसार प्राप्त गर्न नसकिएकाले बजेटलाई यथार्थपरक बनाउन गत वर्षभन्दा कम बजेट सिलिङ तोकिएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्बको बजेट ल्याइए पनि अहिले अर्थ मन्त्रालयले त्यसमा संशोधन गर्दै १६ खर्ब ८८ अर्ब रूपैयाँ खर्च हुने आकलन गरेको छ ।
आगामी आर्थिक वर्षमा राजस्व केही बढे पनि स्रोतमा चाप पर्ने र विकास निर्माणका लागि ठूलो रकम नरहने श्रेष्ठ बताउनुहुन्छ । अर्थ मन्त्रालयले स्रोत अनुमान समितिले दिएको सिमामा रहेर विभिन्न मन्त्रालयलाई पनि सिलिङ तोकिसकेको छ । अब मन्त्रालयहरुले मातहतका निकायमा बजेटको सिलिङ पठाएसँगै बजेट माग सुरू हुनेछ ।
सरकारले ठूलो आकारको बजेट ल्याउने तर कार्यान्वयन गर्ने क्रममा राजस्व र खर्च दुवै लक्ष्यअनुरूप गर्न नसक्ने देखिन्छ । जसलाई अन्त्य गर्दै बजेटमा आमजनताको विश्वास बढाउन यथार्थपरक बजेट ल्याएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।