
काठमाडौं । निर्वाचन आयोगले मतदान अगाडि गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको स्पष्ट पार्नुभएको हो । उहाँले मतदाताले मत खसाल्नै नपाइकन बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको बताउनु भयो ।
यस विषयमा आयोगले प्रेस काउन्सिल नेपालसँग पनि संवाद गरिसकेको र कतिपय विषय अदालतमा समेत पुगिसकेको उहाँले जानकारी दिनुभयो । हरेक निर्वाचनको पूर्वसन्ध्यामा यो विषय पेचिलो बन्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले भन्नुभयो, ‘मत सर्वेक्षण गर्न पाइँदैन, कानुनले निषेध गर्छ, आचारसंहिताले निषेध गर्छ । तर जबर्जस्त कुनै सञ्चार क्षेत्रबाट मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हार्यो भनेर आफैं घोषणा गरिदिने हो भने निर्वाचन आयोगको काम के रह्यो ?’
कानुनले निषेध गरेको कुरालाई कसैले मान्दिनँ भन्न नपाउने भन्दै उहाँले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराउनु भयो ।