
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेर चुनावमा होमिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू मतदाता रिझाउन घर दैलो थालेका छन् ।
पुराना दल र उम्मेदवारले विकास निर्माण र जनताका समस्या आफूहरूले बुझेको भन्दै भोट माग्न थालेका छन् । नयाँ दल र उम्मेदवारले भने जेन-जी आन्दोलनपछि मुलुकले परिवर्तन खोजेको भन्दै रूपान्तरणका लागि आफूहरू जनताबीच आएको दाबी गरेका छन् । सबैभन्दा चर्चित मानिएको झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदाता भेट्न थाल्नुभएको छ ।
शाहले आफूले विकास र परिवर्तनको सुरूवात झापाबाट थाल्न चाहेको बताउँदै मतदाता रिझाउन सुरू गर्नुभएको छ । उहाँले बुधबार सम्पर्क कार्यालय उद्घाटनदेखि मतदातासँग भेटवार्ता गर्नुभयो । उहाँले रास्वपाका झापा र मोरङका अन्य उमेदवारसँग पनि भेटघाट गर्नुभयो ।
यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिनभर कार्यकर्ता र मतदातासँग भेटघाट गर्नुभयो । ओलीले चुनावी मन्तव्य पनि दिनुभयो । ओलीलाई एमालेले र बालेन्द्रलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् ।
मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रका लागि ३४ सय ८७ उम्मेदवारले मनोनयन गरेका थिए । ती मध्ये धेरैले आफ्नो क्षेत्रमा मतदातासँग भोट माग्न थालिसकेका छन् ।