काठमाडौं । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएपछि नेपाली कांग्रेसमा यसपटक उम्मेदवार छनोटमा नयाँ परम्परा सुरू भयो ।
लामो समयदेखि गुटगत भागबन्डा र शीर्ष नेतृत्वको प्रभावमा केन्द्रित टिकट वितरण प्रणालीलाई परिमार्जन गर्दै नेतृत्वले प्रक्रिया र कार्यसम्पादनलाई प्राथमिकतामा राखेको देखियो । तर परिवर्तनका सकारात्मक संकेतसँगै केही निर्वाचन क्षेत्रमा नातावाद, गुटगत स्वार्थ, विवादित व्यक्तिको स्वार्थका आधारमा उम्मेदवार चयन भएको आरोप पनि लागेको छ।
त्यसबाहेक उम्मेदवारीमा समावेशी सहभागिताको विषयमा पनि प्रश्न उठेका छन् । सात बुँदामा हेरौं गगन थापा सभापति भएपछि कांग्रेसमा देखिएका केही सकारात्मक परिवर्तन र केही प्रश्न ।
१ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार
नेपाली कांग्रेसले निर्वाचनअगाडि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति कार्यान्वयन गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसबाट कांग्रेसका मतदाताले यसपटक आफ्नै पार्टीको चुनाव चिन्ह रूखमा मतदान गर्न पाउनेछन् । पार्टीले अन्य दलसँग गठबन्धन र सिटमा तालमेल गरेपछि रूखमा मतदान गर्न नपाएको २०७४ र २०७९ को गुनासो पनि यसपटक हट्नेछ ।
नयाँ उम्मेदवारको प्रवेश, पुरानालाई विदा
विशेष महाधिवेशनमार्फत् गगन थापा नेतृत्वमा आएपछि देखिएको महत्वपूर्ण फरक हो- निर्वाचनमा नयाँ अनुहार । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा कांग्रेसले ९ नयाँ उम्मेदवार उठाएको छ । इलाममा निश्कल राईदेखि काठमाडौं ४ मा सचिन तिमिल्सिनासम्मका युवाले पहिलो पटक निर्वाचन लड्दैछन् । कांग्रेसमा १ सय ६५ उम्मेदवारमध्ये करिब १ सय जना उम्मेदवार नयाँ छन् । जसबाट कांग्रेसले बदलिएको सन्देश दिएको छ ।
नेपाली कांग्रेसमा कतिपय निर्वाचन क्षेत्रमा २०४८ सालदेखि एकै व्यक्ति चुनाव लड्दै आएका थिए । २०७९ को निर्वाचनमा अधिकांश उम्मेदवार ४५ वर्षमाथिका थिए, ७० वर्ष कटेका नै २३ जना थिए । तर यसपटक ४० वर्षमुनिका दर्जनभन्दा बढी अनुहार छन् । २०४८ देखि २०७९ सम्म डडेल्धुराबाट चुनाव जित्दै आउनुभएका निर्वतमान सभापति शेरबहादुर देउवालाइ रोकेर नेता नैनसिंह महरलाइ टिकट दिइएको छ । पूर्वमहामन्त्रीद्वय शशांक कोइराला, प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री उमाकान्त चौधरीसम्मले उम्मेदवार बन्न पाएनन् ।
महिला प्रतिनिधित्व बढ्यो, तर पर्याप्त भएन
नेपाली कांग्रेसले यसपटक थोरै भए पनि महिला उम्मेदवार बढाएको छ, तर यो अझै पर्याप्त नभएको गुनासो छ। २०७९ मा प्रत्यक्षतर्फ पाँच जना महिला उम्मेदवार रहेकामा सीता गुरुङमात्रै विजयी हुनुभयो । यसपटक ११ जना महिला उम्मेदवार बनेका छन् । तर यो संख्या अझै पर्याप्त छैन ।
गुटगत स्वार्थ सभापतिको एकलौटी
नेपाली कांग्रेसको टिकट वितरणमा सभापति र संस्थापन पक्षको मनोमानी चल्नु नौलो होइन । थापा नेतृत्वमा पनि त्यही प्रवृत्ति दोहोरिएको गुनासो नेता-कार्यकर्ताको छ । वर्षौंपछि ६०-४० को भागबण्डा अन्त्य गरिए पनि आफूलाई सहज हुनेगरी एकल ढङ्गले निकटकालाई मात्रै अवसर दिनुभएको छ । देउवा समूहका रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, श्याम घिमिरे, उमाकान्त चौधरी तथा शेखर कोइराला समूहका भुपेन्द्रजंग शाहीले टिकट पाएनन् । २०७९ को निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र महिला सीता गुरुङलाई देउवा समूहकै भएका कारण टिकट दिनुभएन ।
दलितप्रति अनुदार भएको आरोप
नेपाली कांग्रेसको नयाँ नेतृत्व दलितप्रति पनि अनुदार देखिएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ दलित समुदायबाट एक जनाले मात्रै टिकट पाएका छन् । विशेष महाधिवेशनमार्फत सहमहामन्त्री बनेका आफूनिकट प्रकाश रसाइली स्नेहीलाई बझाङमा टिकट दिनु भयो । तर आफूसँग फरक मत राख्ने निवर्तमान सहमहामन्त्री शेखर समूहका जीवन परियारलाई टिकट दिनु भएन । परियारको नाम कास्की-१ बाट सिफारिस भएको थियो । दलित समुदायका त्यस्तै थुप्रै आकांक्षीले टिकट पाएनन् ।
नातावादको प्रश्न गगन थापामाथि पनि
सभापति गगन थापा गुटगत स्वार्थ र नातावादविरूद्ध लड्दै स्थापित हुनु भएको हो । तर उहाँ नेतृत्वमा पुगेपछि भने त्यही व्यवहार दोहोरिएको टिप्पणी पनि भएको छ । उहाँले कैलाली-५ मा आरजु राणा र मोरङ-२ मा सुजाता कोइरालालाई टिकट दिनु भएन । नेता अर्जुन नरसिंह केसी सभापति थापाभन्दा पुराना कांग्रेस नेता हुन्। उहाँको नाम यसपटक समानुपातिक सूचीमा छ।
जगदीश नरसिंह केसी र केदारनरसिंह केसी पनि कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। अर्जुननरसिंह नाताले थापाका ससुरा हुन् भने अन्य दुई अर्जुनका भाइहरू। जगदीशलाई नुवाकोट २ मा टिकट दिइएको छ भने केदारनरसिंह विशेष महाधिवेशनमार्फत् केन्द्रीय सदस्य बन्नुभएको छ। यसलाई सभापति थापाले नातावादका आधारमा अवसर दिइएको भन्दै कतिपय कांग्रेसीले आरोप लगाएका छन्।