आगामी निर्वाचनबाट पहिलो शक्ति बन्ने रास्वपाकाे उद्घोष

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचनबाट पहिलो शक्ति बन्ने रास्वपाकाे उद्घोष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जनकपुरबाट चुनावी सभा सुरू गरेर आगामी निर्वाचनबाट पहिलो शक्ति बन्ने उद्घोष गरेको छ। 

प्रतिनिधि सभालक्षित जनकपुरको सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह लगायतले जनतालाई अधिकार सम्पन्न बनाउँदै विकासमा होमिने प्रतिबद्धता पनि जनाए । रास्वपाबाट आगामी प्रधानमन्त्रीमा अघि सारिएका वरिष्ठ नेता बालेन्द्र शाहले अब देश विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

करिब ९ मिनेट लामो मन्तव्यमा उहाँले प्रदेशहरू र स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । मैथलीमा मन्तव्य राख्दै उहाँले काठमाडौंमा अब अधिकार लिन नभै घुम्न मात्रै जाने अवस्था सिर्जना गरिने बताउनुभयो । काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर पहिलो पटक सार्वजनिक चुनावी मञ्चमा उभिएका शाहले ४ वर्ष काम गर्दा आफूलाई भाषण गर्ने फुर्सद नै नभएको दाबी गर्नुभयो । 

आफू भाषण गर्नेभन्दा काम गर्ने जनप्रतिनिधि भएको शाहको भनाइ थियो । यस्तै रास्वपा सभापति रवि लामिछानेले अब मुलुककै ठूलो दल बनेर सरकार बनाउने उद्घोष गर्नुभयो । उहाँले जनताविरोधी शक्ति आगामी चुनावबाट पाखा लाग्ने दाबी पनि गर्नुभयो । उहाँले अब बालेन्द्र शाहले मुलुक चलाउने पनि जिकिर गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै रास्वपा उपाध्यक्ष डीपी अर्याल, स्वर्णिम वाग्ले, नेता सोविता गौतम, रास्वपा प्रवेश गरेका पूर्वसांसद अमरेश सिंह तथा जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादव र रहबर अन्सारी लगायतले अबको राजनीति रुपान्तरण र युवाको आकांक्षा सम्बोधनका लागि भएको बताउनुभयो । 

नेताहरुले मधेशी जनताको हितका लागि मधेशको अनुहार सिंहदरबार पुग्नुपर्नेमा जोड दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.