
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
रास्वपाद्वारा साेमबार आयोजित परिर्वतन उद्घोषसभामा उहाँले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेश र देशको सेवा गर्ने अवसर दिन अपील गर्नुभएको हो । वरिष्ठ नेता शाहले आफूहरूलाई प्रतिनिधि सभामा विजयी गराएमा देशले ठूलो उपलब्धी हासिल गर्ने दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीको सरकार बनेमा नागरिकले आफ्नो अधिकार आफ्नै प्रदेशमा पाउन थप बलियो आधार बन्ने धारणा राख्नुभयो ।
“म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस् । काठमाडाैं महानगर प्रमुख हुँदा गरेका राम्रा कामबारे यहाँहरूले थाहा पाउनुभएको नै छ । प्रतिनिधि सभामा हाम्रो पार्टीलाई निर्वाचन गरेमा मधेशमा पनि काम गर्ने छु यो मेरो प्रतिज्ञा हो”, नेता शाहले भन्नुभयो ।
उहाँले मधेश प्रदेश राजधानी जनकपुर ऐतिहासिक तथा धार्मिकस्थल भए पनि यहाँको विकास नदेखेर आफू अत्यन्त चिन्तित तथा दुःखी भएको बताउनुभयो । “यो ऐतिहासिक भूमि हो, तर सरसफाइको अभावमा जनकपुर प्रदूषित हुँदै गएको छ । पर्याप्त विकास नहुँदा पर्यटकलाई कठिन भइरहेको छ”, शाहले भन्नुभयो,“म र मेरो पार्टीले जितेमा यहाँको विकासका साथै प्रदेशका जनताले आफ्नो अधिकारका लागि काठमाडौं जाने बाध्यात्मक परिस्थितिलाई हटाउन लाग्ने छु । हाम्रो सरकार बनेमा प्रदेशलाई अझै बलियो, सशक्त तथा प्रभावकारी बनाउन लाग्ने छौँ ।”
वरिष्ठ नेता शाहले आफू मधेसकै बासिन्दा भएकाले यहाँको विकासका लागि सम्पूर्ण ध्यान लगाउने प्रतिबद्धता जनाउनुभयो ।