
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरूलाई दिन आग्रह गर्नुभएको छ ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमबार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो ।
उहाँले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनाेट गर्न आग्रह गर्नुभयो । आगामी निर्वाचनलाई ऐतिहासिक रूपमा लिनुपर्ने उहाँको भनाइ छ । उहाँले पाँच वर्षको आफूहरूले काम देखेपछि फेरि जनताले आफैंलाई नै खोज्ने दाबी पनि गर्नुभयो ।
उहाँले गर्ने सक्ने कामको मात्रै प्रतिबद्धता जनाउनुपर्ने बताउनुहुँदै आफूले बालेको कुरा सधैं पूरा गरेको पनि दाबी गर्नुभयो । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उहाँको भनाइ छ । उहाँले फागुन २१ गते हुने निर्वाचनमा आफूहरूलाई विश्वास गरेर हेर्न आग्रह गर्नुभयो ।
उहाँले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरूको उदय भए देश झन् अधोगतितिर जाने बताउनु भयो । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरूरी रहेको उहाँको भनाइ छ ।