
सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको नियत संघीयताप्रति ठिक नरहेको भन्दै मधेशले नपत्याउने टिप्पणी गर्नुभएकाे छ ।
लहानमा मधेश आन्दोलनका शहीदप्रति मार्याल्पण गर्दै राउतले यस्तो टिप्पणी गर्नुभएकाे हाे । मधेशी जनताको बलिदानीको बलमा आएको संघीयता समाप्त पार्नकै लागि आफूलाई कहिल्यै मधेशी नभन्ने बालेन्द्र शाहलाई मधेशपुत्रका रूपमा अघि सारेर रास्वपा मधेश पसेको र यहाँको भोट बटुल्ने नीति अख्तियार गरेको राउतको भनाइ छ ।
'प्रदेश सभा जलाउने, प्रदेश र संघीयता चाहिन्न भन्नेहरूलाई मधेशले प्रतिकार गर्छ, मधेशी जनता त्यस्तालाई पत्याउनेवाला छैन,' राउतले भने, 'राष्ट्रिय राजनीतिमा मधेशकै भोट निर्णायक हो, मधेशको भोट बटुलेर ठूलो शक्ति बन्ने र संघीयता समाप्त पार्ने उनीहरूको षड्यन्त्र छ ।'
मधेशलाई मधेशको आत्मसम्मान, स्वाभिमान, अधिकार र संघीयताका लागि लड्ने नेता नै आवश्यक रहेको भन्दै त्यस्ता व्यक्तिहरूको कुनै षड्यन्त्र सफल हुन नदिने राउतले बताउनुभयाे ।