कांग्रेसभित्रको विवाद समाधान गर्न नेताहरूबीच सहमतिको प्रयास जारी

माघ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसभित्रको विवाद समाधान गर्न नेताहरूबीच सहमतिको प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न नेताहरूबीचको सहमतिको प्रयास जारी छ । 

निर्वाचन आयोगले आधिकारिकता दिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेस, शेरबहादुर देउवा तथा शेखर कोइराला समूहबीच टिकट वितरणलगायतका विषयमा सहमतिको प्रयास भइरहेको हो । तीनै पक्षबीच सहमतिका लागि गए राति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा लामो छलफल भएको हो।

विशेष महाधिवेशनपछि संस्थापन अर्थात् सभापति गगन थापा पक्षका केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल एकै ठाउँमा भेला भएर छलफल गरेका हुन्। उनीहरूबीच टिकट वितरण र भागबन्डाका विषयमा कुराकानी भएको बताइएको छ ।

तीन समूहका नेताहरूबीचको छलफल सकिएपछि सोही होटलमा रहेका पार्टी सभापति गगन थापासँग पनि नेता लेखक र रिजालले छुट्टै कुराकानी गर्नु भएको छ । टिकटको टुङ्गो लगाउन दबाब बढेपछि नेताहरूले गृहकार्य तीव्र पारेका हुन्। यसैबीच, कांग्रेस सभापति गगन थापाले टिकट वितरणमा सन्तुलित र न्यायपूर्ण निर्णय लिइने बताउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत साेमबार बिहान एक अपील सार्वजनिक गर्दै उहाँले सबै नेता कार्यकर्तालाई आआफ्नो क्षेत्रमा गएर आधिकारिक उम्मेदवारको पक्षमा उभिन आग्रह गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.