एमालेमा टिकट वितरणलाई लिएर तिव्र असन्तोष

माघ ४, २०८२ |विकास आचार्य
एमालेमा टिकट वितरणलाई लिएर तिव्र असन्तोष

काठमाडौं । आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले १ सय ४० निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ । 

ताप्लेजुङ लगायत अन्य केही क्षेत्रको पनि उम्मेदवार पनि टुंगो लागेको छ तर विवादमा पर्ने भयले सार्वजनिक गरिएको छैन। एमालेले यसपटक पनि फरक मतलाई निषेध गरेको छ । उपमाहसचिव योगेश भट्टराईदेखि नेता विनोद ढकालसम्म र कर्ण थापादेखि ठाकुर गैरेसम्मले टिकट पाएनन् । अध्यक्ष ओली निकटका केही नेता भने हार्ने भयका कारण चुनावै लड्न चाहेनन् भने कोहि क्षेत्र फेरेर मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले पार्टीको शनिबारको बैठकले गरेको निर्णयविरूद्ध फरक मत दर्ज गराउनु भयो । उहाँको मत छ- निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा मापदण्ड बनाइएन । नेतृत्वको इच्छा र पक्षधरताका आधारमा टिकट वितरण गरियो । 

भट्टराई आफैँ पार्टीको पदाधिकारी भए पनि ताप्लेजुङको टिकट लिन सक्नुभएन । जबकी २०७४ र २०७९ सालको निर्वाचनमा भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यसपटक अध्यक्ष केपी ओलीका प्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले टिकट पाउनु भयो । 

भट्टराई भने इतरपक्षका नेता भएका कारण टिकट नपाएको बुझिएको छ । जेन-जी आन्दोलनपछि भट्टराई अध्यक्ष ओलीको अनुहार लिएर चुनावमा जान नसकिने भन्दै ११औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेन्डाका साथ ईश्वर पोखरेल समूहबाट उपमहासचिव उम्मेदवारी दिनुभएको हो। त्यो समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र भट्टराई मात्र पदाधिकारीमा निर्वाचित हुनुभएको थियो । भट्टराईले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीको पनि चर्को विरोध गर्नुभएको थियो ।

अध्यक्ष ओलीको विरोध गरेकै कारण टिकट नपाउनेहरूमा मोरङका नेता विनोद ढकालदेखि बाजुराका कर्ण थापासम्म हुनुहुन्छ । यसपटक ढकालको सट्टा मोरङ क्षेत्र नम्बर ४ मा जीवन घिमिरे र बाजुरामा कर्ण थापाको सट्टा लालबहादुर थापाले टिकट पाउनु भयो । 

त्यस्तै गत निर्वाचनमा पाल्पा-२ बाट निर्वाचित ठाकुर गैरेको ठाउँमा उपाध्यक्ष विष्णु पैडेलले क्षेत्र परिवर्तन गरेर टिकट लिनुभएको छ । गैरेले यसपटक टिकट नै पाउनुभएन, जबकी पौडेलले यसअघि रूपन्देही-२ बाट ४ पटक निर्वाचन जित्नुभएको थियो । काभ्रे-२ मा गोकुल बाँस्कोटासँग कुराकानी गरेपछि मात्रै टिकट दिने भन्दै होल्डमा राखिँदा काठमाडौं-९ पनि हाेल्डमा राखिएकाे छ। जबकी उक्त क्षेत्रमा कृष्णगाेपाल श्रेष्ठले जित्दै आउनुभएकाे थियाे । पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हकमा भने काठमाडौं-५ सुरक्षित राखिएको बुझिएको छ ।

ओली इतर पक्षको नेता भए पनि गुल्मी-२ का लागि गोकर्ण विष्टले मात्र सहज रूपमा टिकट पाएको बुझिएको छ । गुल्मी-१ मा प्रदीप ज्ञवालीले टिकट पाउँदा सन्तुलन मिलाउन विष्टलाई टिकट दिएको एमाले कार्यकर्ताले बुझेका छन्। तर, एमाले सचिव राजन भट्टराई भने तल्लो तहका सिफारिसका आधारमा चुनाव जित्ने उम्मेदवारलाई टिकट वितरण गरेको जिकिर गर्नुहुन्छ ।

ओली पक्षकै कतिपय नेताहरू भने चुनाव हार्ने डरले त कतिपय प्रतिद्वन्द्वी हेरेर निर्णय लिने दाउमा बसेका छन् । कतिले भने टिकटै पाएनन् । पार्टीका निर्वाचन विभाग प्रमुख निरज आचार्य एक नम्बरमा सिफारिस भए पनि जाजरकोटमा टिकट पाउनु भएन भने आन्तरिक निर्वाचनबाटै सबैभन्दा धेरै मत ल्याएर एक नम्बरमै सिफारिसमा पर्नुभएका विष्णु रिजालले पनि दैलेख-२ मा टिकट पाउनु भएन ।

ओलीका विश्वास पात्रमध्येका विष्णु रिमाल नुवाकोटबाट सिफारिसमा परे पनि चुनाव लड्न चाहनु भएन भने महासचिव शंकर पोखरेल र सचिव राजन भट्टराई प्रतिद्वन्द्वी हेरेर चुनाव लड्ने दाउमा हुनुहुन्छ। यस्तै भानुभक्त ढकाल मोरङ-३ छाडेर तेह्रथुम पुग्नु भएको छ ।

एमालेले २५ क्षेत्रमा उम्मेदवार तोकेको छैन, निर्णय गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ । एमालेको समानुपातिक सूची र पछिल्लो प्रत्यक्ष तर्फको उम्मेदवारको छनोटलाई हेर्दा विरोधि तह लगाउन भरमग्दुर प्रयास गरेको देखिन्छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।