
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली कांग्रेस एकताबद्ध भएर जानुको विकल्प नभएको बताउनुभएको छ ।
कांग्रेसको शनिबार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कांग्रेस एकताबद्ध नभए समस्या आउने बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनले सुतेर बसेको कांग्रेसलाई जागरूक बनाएको बताउनु भयो । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उहाँको भनाइ छ ।
उहाँले पार्टी र देशको लागि एकतबद्ध हुन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनको लागि उम्मेदवार सिफारिसमा अब भागबण्डा नहुने पनि उहाँले बताउनु भयो । टिकटमा अब ६०/४० को भागबण्डा अन्त्य हुने उहाँको दाबी छ । उहाँले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेदवार बनाउने बताउनु भयो ।
कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । विशेष महाधिवेशनले दिएको म्यान्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नयाँ पुरानो नभनि सबै एकजुट भएर निर्वाचनमा होमिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनमा जाँदा नविन कांग्रेसको मानसिकता बोकेर जानुपर्ने उहाँले बताउनु भयो ।
कांग्रेस नेताहरूले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाइ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसमा लामो समयदेखि योगदान पुर्याउने नेताहरूलाई सम्मानका साथ उचित भूमिका दिनुपर्नेमा आफूहरू स्पष्ट रहेको उहाँहरुको भनाइ छ ।