काठमाडौं, भरतपुर, ललितपुर र धरानका प्रमुखहरू उम्मेदवारीको तयारीमा

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं, भरतपुर, ललितपुर र धरानका प्रमुखहरू उम्मेदवारीको तयारीमा

काठमाडौं । काठमाडौं महानगरसहित देशका विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरू फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा जुटेका छन् । 

काठमाडौं, भरतपुर र ललितपुर महानगर तथा धरान उपमहानगरपालिकाका प्रमुखहरू उम्मेदवारीका साथै राजीनामा दिने तयारीमा पनि छन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । 

उहाँले यही माघ ४ गते पदबाट राजीनामा दिएर चुनावी अभियान सुरू गर्दै हुनुहुन्छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने चर्चा भए पनि अझै तय भइसकेको छैन । यस्तै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन पनि आसन्न निर्वाचनमा उठ्ने तयारीमा जुट्नुभएको छ । 

नेपाली कांग्रेसको टिकट सुनिश्चित भएपछि प्रमुख पदबाट राजीनामा दिने उहाँको भनाइ छ । महर्जनको क्षेत्र ललितपुर-३ हो । यस्तै भरतपुर महानगरकी प्रमुख रेनु दाहाल पनि प्रतिनिधि सभा निवार्चनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । मनोनयनअघि उहाँले राजीनामा दिनुहुनेछ । दाहाल चितवनको क्षेत्र नम्बर-३ बाट उम्मेदवार बन्ने निश्चित भइसकेको छ ।

धरानका प्रमुख हर्कराज राई मनोनयनअघि नै देशदौडाहामा निस्किसक्नुभएको छ । आफ्नै नेतृत्वमा गठन गरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईले सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही माघ ६ उम्मेदवारको मनोनयन हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.