
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्नका लागि नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको सचिवालय बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने एमालेले जनाएको छ । निर्वाचन आयोगले माघ ६ गतेका लागि उम्मेदवार मनोनयनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
एमालेले प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचनतर्फका १ सय ६५ निर्वाचनक्षेत्रका लागि उम्मेदवारको नाम टुङग्याउने जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका ३० जनाको जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले एकल सिफारिस गरिसकेको छ । यसअघि बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले उम्मेदवारको नाम टुङगो लगाउने जिम्मा सचिवालयलाई दिइसकेको छ।
एमाले सचिवालय बैठकमा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलगायत कांग्रेसभित्र बदलिदो राजनीतिक परिवर्तनबारे पनि छलफल गर्ने एमालेले जनाएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँगको सहकार्यको विषयमा पनि छलफल गर्ने जनाएको छ । एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससहित जसपा नेपालसँग गठबन्धन गरेर उम्मेदवार उठाइसकेको छ।