
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्ताे चिन्ता व्यक्त गर्नुभएकाे हाे। अध्यक्ष ओलीले विशेष महाधिवेशन बनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्याउने कुराले मुलुकमा डेमोक्रेसीलाई, सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्याउने प्रपञ्च रचिएको जिकिर समेत गर्नुभयो ।
उहाँले कांग्रेस विभाजन मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको भन्दै यस्तो अवस्था आएकोमा आफू चकित भएको समेत बताउनु भयो । अध्यक्ष ओलीले शान्ति, सुशासन र मुलुकको डेमोक्रेसीका लागि सानातिना असन्तुष्टिलाई थाँति राखेर एकताबद्ध भएर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई समेत सचेत गराउनु भयो ।
अध्यक्ष ओलीले शान्ति, संविधान र लोकतन्त्रको लागि आफूहरूले एकताबद्ध भएर लडनुपर्ने अवस्था आएको बताउनु भयो ।