एकता, टिकट र प्रधानमन्त्री उम्मेदवार : गगन थापा नेतृत्वको कांग्रेसको चुनावी पुनर्संरचना

माघ ३, २०८२ |प्रकाश बम
एकता, टिकट र प्रधानमन्त्री उम्मेदवार : गगन थापा नेतृत्वको कांग्रेसको चुनावी पुनर्संरचना

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ । 

शनिबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचनका लागि कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेर विगतका असन्तुष्टि सम्बोधन गर्ने प्रयत्न गरिएको छ भने विगतका विभिन्न कारणले निष्क्रिय भएका या पार्टी छाडेका नेता-कार्यकर्तालाई पुनः फर्काउने रणनीति लिइएको छ ।

निर्वाचन आयोगबाट वैधानिकता पाएसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको हाे । पहिलोपटक शनिबार बसेको केन्द्रीय समिति बैठकले अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । विगतमा विभिन्न दलसँग गरिएको गठबन्धनका कारण कांग्रेस कार्यकर्तामात्र होइन, आम नागरिकमा समेत देखिएको वितृष्णालाई व्यवस्थापन गर्ने उद्देश्यले यो निर्णय लिइएको नेताहरूले जनाएका छन् । 

विगतका निर्वाचनमा विभिन्न दलसँग गरिएको गठबन्धनले कांग्रेसभित्र गहिरो असन्तुष्टि पैदा गरेको थियो । कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न नपाएका कारण बाहिरिएको मत पुनः फर्काउने रणनीतिका रूपमा पनि यसलाई हेरिएको छ। नयाँ नेतृत्वमार्फत पार्टी पंक्ति, आम मतदाता तथा देश–विदेशमा रहेका कांग्रेसजनमा सकारात्मक माहोल बनाउने प्रयास कांग्रेसको छ । 

यस क्रममा विभिन्न कारणले पार्टीबाट निष्क्रिय भएका वा पार्टी छाडेका नेता-कार्यकर्तालाई पुनः पार्टीमा जोड्ने रणनीति बनाइएको छ । विगतको नेतृत्वसँग फरक मत राख्दै बाहिरिएका व्यक्तिहरू पार्टीमा फर्किँदा निर्वाचनमा फाइदा हुने आकलन कांग्रेसको छ ।

कांग्रेसले टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरी प्रक्रिया अघि बढाइसकेको छ । बोर्डमार्फत समानुपातिक र समावेशी आधारमा टिकट बाँड्ने तयारीले विगतमा अवसरबाट वञ्चित समूहको असन्तुष्टि घटाउने लक्ष्य राखिएको छ । टिकट वितरण नै पार्टीभित्रको एकता र चुनावी सफलताको निर्णायक कारक हुने बुझाइ कांग्रेसमा छ ।

पछिल्लो समय नयाँ दलप्रति देखिएको आकर्षणलाई मध्यनजर गर्दै कांग्रेसले लोकप्रिय अनुहार तथा धेरैको विश्वास प्राप्त गरेका सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने तयारीसमेत गरेको छ। यसले पनि आसन्न निर्वाचनमा मत बढ्ने आकलन कांग्रेसको छ । 

कांग्रेसले आफ्नो निर्णय संगठनात्मक सुधारका प्रयासमात्र नभइ आगामी निर्वाचनलाई केन्द्रमा राखेर गरिएको रणनीतिक पुनर्संरचना पनि भएको जनाएको छ । तर यी निर्णय कति प्रभावकारी हुन्छन् भन्ने कुरा पार्टीभित्रको एकता कायम रहन्छ कि रहँदैन र बाहिरिएको मत साँच्चिकै फर्किन्छ कि फर्किँदैन भन्ने कुरामा निर्भर रहने देखिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।