
चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।
शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान सभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।”
राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गर्नुभयो । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा निष्पक्ष रूपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”
भरतपुर महानगरपालिकाले समानुपातिक रूपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताउनुभयो । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रूपमा गरिएको योगदानले नै यो सम्भव भएको उहाँको भनाइ थियो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रू ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको रू २१ करोड ५८ लाख, बागमती प्रदेश सरकारको रू १९ करोड ८९ लाख तथा महानगरपालिकाको रू ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।