निर्वाचनपिच्छे क्षेत्र फेर्दै पुष्पकमल दाहाल यसपटक रूकुमपूर्वतर्फ, स्थानीय राजनीति तरंगित

माघ ३, २०८२ |पोषनाथ अधिकारी
निर्वाचनपिच्छे क्षेत्र फेर्दै पुष्पकमल दाहाल यसपटक रूकुमपूर्वतर्फ, स्थानीय राजनीति तरंगित

रूकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी-नेकपाका संयोजक पुष्पकमल दाहालले निर्वाचनपिच्छे क्षेत्र परिवर्तन गर्दै आउनुभएको छ । 

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशको रूकुमपूर्वबाट उम्मेदवार बन्ने दाहालको तयारीले अहिले त्यहाँको राजनीति तरंगित बनेको छ । रूकुमपूर्वको रूकुमकोटबाट नेकपाका संयोजक दाहालको आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन लड्ने तयारी छ । 

निर्वाचनको मिति तय भएपछि रूकुमपूर्व नआएका दाहालले चुनाव लड्ने सन्देश पनि छिमेकी जिल्ला रूकुम पश्चिममा आयोजित एक सभामार्फत पठाउनुभयो । उहाँले चुनाव लड्ने घोषणा गरेपछि नेकपाको जिल्ला तहबाट पनि नाम सिफारिस भएको छ । जसले रूकुमपूर्वबाट संयोजक दाहालले आगामी निर्वाचन लड्ने लगभग निश्चित भएको स्थानीय नेता कार्यकर्ताको पनि बुझाइ छ ।

हरेक चुनावमा निर्वाचन क्षेत्र फेर्ने गरेका दाहाल २०६४ र २०७० को संविधान सभामा रोल्पा, र काठमाडौंबाट चुनाव लड्नुभएको थियो । रोल्पाबाट विजयी र काठमाडौंबाट पराजित भएका उहाँ २०७० मा सिराहाबाट निर्वाचित हुनुभयो । २०७४ मा निर्वाचन क्षेत्र फेरेर चितवन रोज्नुभयो । २०७९ मा गोरखा पुगेका उहाँ आसन्न निर्वाचनमा भने तत्कालीन माओवादीको उद्गम थलोसमेत मानिने रूकुमपूर्व आउने हुनुभएको छ ।

एक निर्वाचन क्षेत्र रहेको रुकुमपूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता छन् जसमा ६ सय ६० नयाँ छन् । कांग्रेस, एमाले र नयाँ दलहरूले समय फेरिएको भन्दै दाहालको रूकुमपुर्वबाट हुने उम्मेदवारीलाई सामान्य भनिरहँदा यहाँको राजनीतिलाई दाहालको उम्मेदवारीको तयारीले तरंगित बनाएको छ ।

माओवादी द्वन्द्वमा बुबा आमा गुमाएका सन्दीप पुन प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वी रूकुममा उम्मेदवार बन्ने चर्चा छ । माओवादीको विरासत बोकेका पुनसहित कांग्रेस, एमाले र राष्टिय स्वतन्त्र पार्टीले पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने रणनीतिमा लागेका छन् ।

संघीयतापछि पूर्व र पश्चिम रूकुम छुट्टा-छुट्टै जिल्ला बनाइएपछिका आम निर्वाचनमा लगातार साबिकको माओवादी केन्द्रले जित हासिल गर्दै आएको छ । रूकुम पूर्वबाट २०७४ मा माओवादी केन्द्रका कमला रोका र २०७९ पूर्णबहादुर घर्तीले जित्नुभयो ।जिल्लाका तीनवटै पालिकामा माओवादी केन्द्रले नै जितेको छ । 

यसकारण पनि जित निकाल्न सहज हुने ठानेर दाहालले रूकुमपूर्व रोजेको प्रष्ट छ । तर राजनीतिक परिदृष्य फेरिएको भन्दै युवा पुस्ता नयाँ दल र तिनका सम्भावित उम्मेदवारप्रति चासोपूर्वक हेरिहेका छन् । दलका कार्यकर्ता र बजार क्षेत्रमा चुनावी चर्चा चलिरहँदा रूकुम पूर्वको ग्रामीण भेगका मतदातालाई भने चुनावप्रति कुनै चासो छैन । 

उनीहरू जो आए पनि आफ्नो ठाउँको विकास गर्ने नेताको पर्खाइमा छन् । २०७९ को निर्वाचनको टिकट वितरणदेखि सुरू भएको पार्टीभित्रको अरन्तर्विरोधलाई केन्द्रीय नेताको उम्मेदवारीले कम गर्न टेवा पुग्ने र पुष्पकमल दाहाललाई भारी मतले विजयी बनाउनेमा नेकपाका नेता कार्यकर्ता ढुक्क देखिइरहँदा यहाँका बुद्धिजीवी भने दाहालको जित सहज देखिरहेका छैनन् ।

जे होस् पुष्पकमल दाहालको रूकुमपूर्वको उम्मेदवारी घोषणाले यहाँ नेकपाभित्र मात्र हैन अन्य दलमा पनि हलचल ल्याएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।