उज्यालो नेपाल पार्टीले कुलमानलाई बनायाे अध्यक्ष, रास्वपासँगको एकता अन्त्य

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
उज्यालो नेपाल पार्टीले कुलमानलाई बनायाे अध्यक्ष, रास्वपासँगको एकता अन्त्य

काठमाडौं । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता अन्त्य गरेको छ ।

पद बाँडफाँट र सैद्धान्तिक विषयमा कुरा नमिलेपछि रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकताको सहमति १२ दिनमै भंग भएको हो । त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रुपमा सहमति भंग गरेको आरोप लगाउनुभयो। 

अध्यक्ष घिसिङले सहमति कार्यान्वयन गराउन आफूहरु अन्तिम समयसम्म प्रयासरत रहे पनि रास्वपाले १२ दिनपछि एक्कासी सहमति तोडेको आरोप लगाउनुभयो । साँत बुंदे सहमति भए पनि अन्य कतिपय अलिखित सहमति कार्यान्वयन नहुँदा रास्वपाबाट बाहिरिएको घिसिङको भनाइ छ।

घिसिङले प्रतिनिधि सभातर्फको १ सय ६५ निर्वाचनक्षेत्रमै उम्मेदवार उठाउने र पार्टीको अभियान देशभर सञ्चालन गर्ने बताउनुभयो । रास्वपासँगको एकता टुटे पनि सबैसँग सहकार्यका लागि ढोका भने खुल्ला रहेको उहाँको भनाइ छ । घिसिङले २०७२ को संविधानका प्रावधान अनुसार नै संघीयता, धर्म निरपेक्षतालगायत समानुपातिक समावेशीतालाई संस्थागत गर्दै अघि बढ्ने विषयमा दृढ रहेको समेत बताउनुभयो । 

रास्वपाले भने घिसिङले पदको बार्गेनिङ गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीबीच सहमति भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.